• १५ वैशाख २०८१, शनिबार

तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता हुँदै

blog

प्रतियोगिताको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइँदै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत १४ गते । कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । १७ गतेदेखि बाणगङ्गा नगरपालिकामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुनेगरी फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत बताइएको छ ।

प्रतियोगितामा विजयी हुने टिमले ११ लाख ११ हजार १ सय ११ पुरस्कार पाउने आयोजक कपिलवस्तु फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनुभयो ।

प्रतियोगितामा ८ क्लबको सहभागिता रहनेछ । ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका हनामी बीएफसी चितवन, सुदूरपश्चिम–११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु –११ बिच नकआउट आधारमा खेल हुने थापाले बताउनुभयो ।

खेल सञ्चालनका लागि बुद्ध रङ्गशाला खेल मैदानमा अस्थायी प्याराफिट निर्माणको काम भइरहेको जनाइएको छ । जिल्लामा पहिलो पटक राष्ट्रियस्तरको खेल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय खेलाडीलाई ठुला प्रतियोगितामा भाग लिने अवसर जुरेको लुम्बिनी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष शक्तिसिंह ठकुरीले बताउनुभयो ।

प्रतियोगिता चैत २४ सम्म सञ्चालन हुनेछ । दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपियाँ र उत्कृष्ट खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाका पालिका, प्रदेश खेलकुद विकास परिषद्, प्रायोजन र टिकट बिक्रीबाट रकम सङ्कलन हुने जनाइएको छ ।