• १२ साउन २०८१, शनिबार

जनक शिक्षाको पाठ्यपुस्तक विक्री सुरु

blog

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख रामबहादुर कुँवरे नयाँ शैक्षिक सत्रका लागि बाजुराका पुस्तक विक्रेता नरेश जङ्ग शाहीलाई पाठ्यपुस्तक विक्री गरेर पाठ्यपुस्तक विक्रीको सुरुवात गर्दे । तस्बिर ः प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, चैत १४ गते । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुसार मङ्गलवारदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।

लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख रामबहादुर कुँवर अनुसार वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि बाजुराका विक्रेताबाट पाठ्यपुस्तक विक्री सुरु गरिएको हो ।

बाजुराको स्वामिकार्तिक गाउँपालिकाका २५ विद्यालयका लागि आफूले झन्डै २५ लाख रुपियाँ बराबरका पुस्तक लैजान लागेको रुविया सपिङ सेन्टरका सञ्चालक नरेश जङ्ग शाहीले बताउनुभयो । 

जनक शिक्षाका प्रदेश प्रमुख कुँवरका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका लागि पाठ्यपुस्तक विक्री गर्ने दिन तय गरिएको छ । उहाँले भन्नुभयो, पहिलो हिमाली जिल्लाबाट विक्री सुरु गरेका छौ, त्यस अनुसार चैत १३ र १४ गते बाजुरा, १५ र १६ गते दार्चुला जिल्लाका विक्रेतालाई पाठ्य पुस्तक विक्री गरिने भएको छ । 

यस्तै गरेर पहाडी जिल्ला बझाङका लागि चैत १७ गते , बैतडीका लागि १८ गते , अछामका लागि १९, डोटीका लागि २० र डडेलधुराका लागि २१ गते पाठ्यपुस्तक विक्री गरिने छ । तराईका जिल्ला कैलाली र कञ्चनपुरका लागि भने क्रमशः चैत २२, २३, २४, २५, २६ र २७ गते पाठ्यपुस्तक विक्री गरिने भएको छ । 

यस वर्ष सुदूरपश्चिमका १६५ विक्रेता मार्फत कक्षा १ देख १२ कक्षासम्मका विद्यार्थीका लागि १९ लाख १५ हजार १८५ थान पुस्तक विक्री गरिने जनक शिक्षाका प्रदेश प्रमुख कुँवरले बताउनुभयो । यस पटक झन्डै ६० हजार विद्यार्थीलाई पुस्तक विक्री गरेर ३५ करोड रुपियाँको कारोबार गर्ने लक्ष्य जनक शिक्षाले लिएको छ ।

जनक शिक्षाले अघिल्लो वर्ष १७ लाख ४१ हजार ७८ थान पाठ्यपुस्तक विक्री गरेर ३० करोड रुपियाँको कारोबार गरेको थियो । जनक शिक्षाको सुदूरपश्चिमको गोदाममा ८० प्रतिशत पाठ्यपुस्तक रहेको हिमाली र पहाडी जिल्लाका लागि पाठ्यपुस्तक विक्री गर्ने काम सक्ने क्रममै कैलाली र कञ्चनपुरलाई लक्षित गरेर बाँकी २० प्रतिशत पाठ्यपुस्तक आइपुग्ने प्रदेश प्रमुख कुँवरले बताउनुभयो । 

सुदूरपश्चिममा सबैभन्दा बढी पाठ्यपुस्तक कैलालीका विद्यार्थीका लागि छ लाख १४ हजार ७९६ थान आवश्यक पर्छ । यस्तै गरेर सबैभन्दा कम डडेलधुरालाई एक लाख तीन हजार ३३० थान पुस्तक चाहिन्छ । यस्तै गरेर कञ्चनपुरलाई दुई लाख ८९ हजार १५७, बैतडीलाई एक लाख ७८ हजार ३६०, बझाङलाई एक लाख ७७ हजार २१५, अछामलाई एक लाख ६५ हजार ८३१, डोटीलाई एक लाख ३७ हजार ६९२, बाजुरालाई एक लाख २७ हजार ८०६ र दार्चुलालाई एक लाख २१ हजार १२ थान पाठ्यपुस्तक आवश्यक पर्छ ।