• १३ साउन २०८१, आइतबार

बिरामी हिमाली गिद्धको उद्धार

blog

बग्लहुवा सामुदायिक वनबाट उद्धार गरिएको बिरामी हिमाली गिद्ध । तस्बिर : गोरखापत्र

चाँदनी आचार्य 

घोडाघोडी(कैलाली), चैत १३ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।  

लोपोन्मुख प्रजातिको रूपमा रहेको हिमाली गिद्धको बग्लहुवा सामुदायिक वनबाट स्थानीयले उद्धार गरी मङ्गलबार डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाएका हुन् ।

डिभिजन वन कार्यालयका प्रमुख नितेसराज भट्टराईले स्थानीयले खबर गरेपछि वनका कर्मचारीले उद्धार गरी डिभिजन वन कार्यालयमा राखिएको बताउनुभयो । उहाँले बिरामी गिद्धको उपचार गरी सुरक्षित स्थानमा छोडिनेसमेत जानकारी दिनुभयो ।

चराविद् हिरुलाल डगौराले जाडोको समयमा आहारा खोज्दै टाढा टाढासम्म पुग्ने हिमाली गिद्ध गर्मी सुरु भएसँगै हिमाल तिर फक्रने बताउनुभयो । चराविद् डगौराले लामो दुरीको उडान र गर्मीका कारण बिरामी परेको हुनसक्ने बताउनुभयो । 

उहाँले उद्धार गरिएको गिद्ध आइ.यु.सि.एनको रेडलिष्टअनुसार सङ्कटको नजिक रहेको जनाउनुभयो । हिमाली गिद्धहरू जाडोमा नेपालको हिमाली क्षेत्रबाट तराइमा आहाराका लागि आउने गरेको बताइन्छ । दुई वर्ष अगाडि यस्ता खालको हिमाली गिद्ध भजनीको सामुदायिक वनमा बिरामी अवस्थामा फेला परेको थियो ।