• १३ साउन २०८१, आइतबार

धनुषामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु एक घाइते

blog

विजयकुमार साह 

ढल्केबर, चैत १३ गते । धनुषामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् । 

मङ्गलबार बिहान ६ बजे जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ नजिक कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहरपट्टी नगरपालिका–४, बस्ने अन्दाजी २५ वर्षीय रामबाबु साह रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले बी. एल. १२ सी. ०९४४ नम्बरको भारतीय कारले प्रदेश २–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको बताउनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका साहको लक्ष्मीनियाँमा रहेको सेन्ट्रल अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापश्चात् कार चालक फरार भएको र उनको खाेजी कार्य भइरहेको छ । 

त्यस्तै, सोमबार साँझ ६ बजे ढल्केबर–जनकपुर सडकखण्डको मिथिला नगरपालिका–२, विश्वकर्मा चोकमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका २२ वर्षीय जिते महतो छन् भने साेही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले ज ११ प १९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएकोमा चिकित्सकले जितेलाई मृत घोषणा गरेको धनुषाको प्रहरी प्रवक्ता रन्जन अवाले बताउनुभयो । 

उहाँका अनुसार गम्भीर घाइते सरोजको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाहिर रेफर गरिएको छ ।