• ८ मंसिर २०८१, शनिबार

परोपकारको भावना समेटिएका पाटीपौवा

blog

अठार पुराणका रचयिता वेदव्यासले आफ्ना सबै कृतिको सार एकै श्लोकमा भनेका छन्, “परोपकारः पुण्याय, पापाय परपीडनम् ।” अर्थात् अरूलाई उपकार गर्दा पुण्य मिल्छ भने दुःख दिँदा पाप लाग्छ । यस भनाइको परिपूरक आशयलाई यसरी पनि व्यक्त सकिन्छ, अरूको परोपकार गर्नु जत्तिको ठूलो धर्म र अरूलाई पीडा दिनु जत्तिको ठूलो पाप अर्को छैन ।

परोपकारी कार्यलाई जीवन दर्शनका रूपमा आत्मसात् गर्ने वेदव्यासजस्ता मनीषीका सत्कर्मयुक्त जीवन दर्शनबाट हाम्रा पुर्खाहरू परोपकारी कार्यमा सरिक भएका अनेकौँ दृष्टान्त भेटिन्छन् । परोपकारी भावनालाई जीवनको मार्गदर्शक सिद्धान्त मान्ने सत्कर्मीहरूले सम्पादन गरेका अनेकन् लोकहितकारी कार्यको दृृष्टान्तका रूपमा पाटीपौवा, सत्तल एवं धर्मशाला निर्माणलाई पनि लिन सकिन्छ ।

पाटीपौवा, सत्तल एवं धर्मशाला निर्माणको रचनागर्भ नै परोपकारी भावनाबाट तयार भएको प्रस्ट छ । मूलतः बटुवा, खेताला, गोठाला, तीर्थयात्री एवं सर्वसाधारणलाई लक्षित गरी यस्ता संरचना निर्माण गरिएका हुन्छन् । उनीहरूलाई घामपानी, हुरी–बतास, झरी–बादल जस्ता प्रतिकूल मौसम तथा साँझ–रातमा आश्रय लिन सहज होस् भन्ने आशयबाट पाटीपौवा निर्माण गरिएको हुन्छ ।

विगतमा पाटीपौवा निर्माणमा राजादेखि रङ्कसम्मको सहभागिता थियो । राजामहाराजाले कीर्ति तथा यश कायम गर्न पाटीपौवा निर्माण गरेको देखिन्छ । जनस्तरमा निर्मित पाटीपौवा धनले भन्दा पनि मनले खडा भएको प्रतीत हुन्छ । आफूसँग पैसा नभए पनि कतिपय नारी धर्मात्माले पेवापात बेचेर प्राप्त रकमसमेत खर्च गरी पाटीपौवा उभ्याएको पाइन्छ ।

जनस्तरमा निर्मित पाटीपौवाले जनताका पसिना, श्रम र फराकिलो मनको थुप्रै कथा–कुथुङ्ग्री भेटिन्छन् । ग्रामीणजनले श्रमदान गरेर सामूहिक रूपमा पाटीपौवा निर्माण गरिएको अनेकन् दृष्टान्त छन् । कतिपय धर्मात्मा नारीले आफ्ना पेवापातबाट आएको रकम खर्च गरेरसमेत पाटीपौवा निर्माण गर्न लगाएको मौखिक इतिहास गाउँघरमा सुन्न पाइन्छ ।

परिभाषा

बटुवा, खेताला–गोठाला आदिलाई घामपानी, हुरी–बतासजस्ता प्रतिकूल मौसम तथा साँझ–रातमा आश्रय लिन सहज होस् भनी निर्माण गरिएको संरचना नै पाटीपौवा हुन् । ठाउँ अनुसार पाटी, पौवा, पाटीपौवा, सत्तल, देवल, एवं धर्मशाला जस्ता नामले पुकारिने यस्ता आश्रयस्थल आमजनताको हितलाई केन्द्रमा राखी निर्माण गरिएका हुन् । सार्वजनिक आश्रयस्थलका रूपमा रहेका पाटीपौवासँग आमजिन्दगी जोडिएको हुन्छ ।

पाटी, पौवा, पाटीपौवा, सत्तल, देवल एवं धर्मशालालाई एक–आपसमा समानार्थी शब्दका रूपमा बुझिए पनि हरेक शब्दले धेरथोर फरक–फरक अर्थ पनि बोकेको देखिन्छ । ‘बृहत् नेपाली शब्दकोश’ (दसौँ संस्करण) ले यी शब्दलाई कतै समनार्थीका रूपमा त  कतै फरक कोणबाट परिभाषित गरिएको पाइन्छ । ‘बृहत् नेपाली शब्दकोश’ कोे परिभाषा यस्तो छः

पाटी–

बटुवाहरूलाई विश्राम गर्न तथा वास बस्नका निमित्त बनाइएको घर, धर्मशाला, टौवा, ठाँटी (बृहत् नेपाली शब्दकोश, २०७५, पृ.७६०) । यस परिभाषाले ‘पाटी’ लाई बटुवाहरूको आश्रयस्थलका रूपमा चित्रण गरेको देखिन्छ ।

पौवा– 

१. बटुवाहरूका लागि पानीको समेत व्यवस्था भएको पाटी, पानीयशाला वा पौशाला । 

२. ठाँटी, टहरो वा धर्मशाला (पूर्ववत्, २०७५, पृ.८०९)  । पौवासम्बन्धी १ नम्बरको परिभाषाले बटुवाहरूको आश्रयस्थलमा पानीको व्यवस्थालाई अनिवार्य सर्तका रूपमा परिभाषित गरेको देखिन्छ । यसका अतिरिक्त यस परिभाषाले पानी खाने थलो अर्थात् पौशालालाई पनि समाविष्ट गरेको पाइन्छ ।

पाटीपौवा–

बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको तथा पानीको समेत व्यवस्था भएको पाटी वा पौवा (पूर्ववत्, २०७५, पृ.७६०) । फरक–फरक शब्दहरू पाटी र पौवालाई जोडेर एउटै शब्द बनाइएको यस शब्दको अर्थ प्रत्यक्ष वा परोक्ष रूपमा पाटी र पौवासम्बन्धी पूर्ववर्ती परिभाषासँग मेल खाएको देखिन्छ ।

सत्तल–

यात्री, बटुवा आदिका निम्ति सरकार वा धर्मात्मा व्यक्तिहरूद्वारा  विशेषतः देवस्थलमा निर्मित ठूलो कोठा, तला आदि भएको घर, पाटी वा धर्मशाला (पूर्ववत्, २०७५, पृ.१२२३) । यस परिभाषाले धेरै मानिस एकैचोटि बस्न सम्भव हुने विशालकाय संरचनालाई सत्तलका रूपमा चित्रण गरिएको पाइन्छ ।

देवल–

देवताका मूर्ति स्थापना भएको मन्दिर, देवालय वा देवगृह (पूर्ववत्, २०७५, पृ.६२६) । देवललाई कतिपय अवस्थामा पाटीपौवाकै समनार्थीका रूपमा बुझ्ने गरिएको भए पनि शब्दकोशको परिभाषाले यसलाई फरक अर्थमा परिभाषित गरेको देखिन्छ । ‘बृहत् नेपाली शब्दकोश’ ले देवालयलाई मानव आश्रयस्थलभन्दा पनि देवताको आश्रयस्थलका रूपमा परिभाषित गरेको छ ।

धर्मशाला–

यात्री, बटुवा, भिक्षु आदिलाई निःशुल्क बस्नका लागि बाटाघाटा तीर्थस्थलमा बनाइएको घर, पाटी वा पौवा (पूर्ववत्, २०७५, पृ.६४६) । यस परिभाषामा बौद्धभिक्षुले आश्रय लिने थलो नै धर्मशाला हो भन्ने मनोविज्ञान कताकता झल्कन्छ । हिमाञ्चल प्रदेशको धर्मशाला शहर यही मनोविज्ञानबाट बनेको स्थाननाम हो भन्ने छनक मिल्छ ।

इतिहास

पाटीपौवा, ठाँटी वा धर्मशाला निर्माण नेपालको समृद्ध परम्परा हो । हाम्रोजस्तो धर्मभीरु समाजमा वरत्र र परत्र सुधार्न एवं कीर्ति वा यश कमाउन प्राचीनकालदेखि नै यस्ता लोकहितकारी संरचना बनाउने गरिएको पाइन्छ । लिच्छविकालमा पनि पाटी, पौवा, धर्मशाला तथा धारा बनाउने चलन रहेको थियो भन्ने देखिन्छ ।

पुरातìव विभागको प्रकाशन ‘प्राचीन नेपाल’ मा प्रकाशित पाटीपौवासम्बन्धी लेखमा प्रकाश दर्नालले इतिहासकार धनवज्र वज्राचार्यले हाँडीगाउँ र मङ्गलबजारको अभिलेख अध्ययन गर्दा लिच्छविकालमा कीर्ति कायम गर्न पाटी, पौवा, धर्मशाला, धारा बनाउने चलन रहेको फेला पारेको उल्लेख गरेका छन् । यद्यपि अहिले लिच्छविकालीन पाटीपौवाको अस्तित्व भेटिँदैन । हाल बचेका  पाटीपौवा सत्तलहरू पन्ध्रौँ–सोह्रौँ शताब्दीपछिका बढी छन् (दर्नाल, २०४९, पृ. ५३–५४) ।

अहिलेसम्म उपलब्ध प्रमाणका आधारमा नेपालमा काष्ठमण्डप सबैभन्दा पुरानो सत्तल देखिएको छ । ‘प्राचीन नेपाल’ मा ‘काष्ठमण्डप’ शीर्षकमा रमेशजङ्ग थापाको लेख प्रकाशित छ । त्यस लेखमा वि.सं. १२०० मा लेखिएको हस्तलिखित ग्रन्थ ‘नामसङ्गीति’ मा काष्ठमण्डपको उल्लेख भएको चर्चा गरिएको  छ (थापा, २०२५, पृ.३३ र ३७) ।

मेरी स्लसर र गौतमवज्र वज्राचार्यले एसियाको कला र पुरातìवमा केन्द्रित जर्नल ‘अटाइबियस एजे’ (भोल्युम ३६, नम्बर ३, सन् १९७४) मा उपत्यकाका मध्यकालीन भवनहरूको वास्तुकला र सांस्कृतिक पक्षबारे खोजमूलक लेख प्रकाशन गरेका छन् । स्लसर र वज्राचार्यद्वारा मध्यकालीन भवनहरूको चर्चा गर्ने क्रममा उपत्यकाका पुराना मुख्य मुख्य सत्तल तथा पाटीहरूको पनि चर्चा गरिएको छ ।

कर्कप्याट्रिकले आफ्नो पुस्तक ‘एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल’ नाम नलिई उल्लेख गरेका काठको संरचनाबारे स्लसर र वज्राचार्यले राय दिएका छन् । यी दुई अध्येताका दृष्टिमा कर्कप्याट्रिकले नाम नलिई वर्णन गरेका कतिपय काठको संरचना सत्तल वा धर्मशाला हुन् ।

कास्की जिल्लाको पर्यटकीय थलोमा गणना हुने वीरेठाँटी नेपालका पुरानो ठाँटीमध्ये एक मानिन्छ । यो ठाँटी तीन शताब्दीभन्दा पुरानो देखिन्छ । पोखराबाट निस्कने समाचारपत्र समाधान दैनिकको अनलाइन संस्करणमा वीरेठाँटीको विगत र वर्तमानबारे २०८० साल माघ २ गते प्रकाशन गरेको समाचारको सारसङ्क्षेप यस्तो छ :

कास्कीस्थित दाङसिङ–मोहरियाका वीरे गुरुङले १७७६ सालमा मोदी र भुरुम्दी नदीको दोभानमा ठाँटी निर्माण गरेका थिए । भोटमा नुन लिन जाने ढाक्रे तथा मुक्तिनाथ जाने भक्तजनको सुविधालाई लक्षित गरी ठाँटी निर्माण गरिएको थियो । त्यही ठाँटी समयक्रममा निकै चर्चित बन्यो र प्रसिद्धि कमायो, जुन कालान्तरमा ‘वीरेठाँटी’ नामबाट परिचित बन्यो । त्यस ठाँटीलाई १९९२ मा जमदार ज्ञानी गुरुङले जीर्णोद्धार गरेका थिए । दुई खोलाको दोभानमा रहेको ठाँटी जोखिममा परेपछि २०४७ मा क्याप्टेन चीनबहादुर गुरुङको नेतृत्वमा ठाँटी छहरेकुनामा पुनर्निर्माण गरियो । ठाँटी निर्माता वीरे गुरुङले दिएको योगदानलाई चिरस्थायी बनाउन उनका परिवारजनले ‘वीरे म्हिगी कोने गुठी स्थापना’ समेत स्थापना गरेका छन् ।

अब आउँछ सोह्रखुट्टे पाटीको किस्सा । नेपालको राजनीतिक तथा सैनिक  इतिहासमा झुल्किरहने पात्र कपर्दार भोटु पाँडेले काठमाडौँमा खडा गरेको सोह्रखुट्टे पाटी पुरानोमध्ये एक मानिन्छ । यस पाटीको ऐतिहासिकताबारे नेपालखोज (पुस २३, २०७९) मा  सुनिल उलक लेख्छन्–

वि.सं. १८४५ को कार्तिकमा काजी बलभद्र शाह मातहतका कपर्दार भोटु पाँडेले भोट सैनिकको कैदबाट मुक्त भएर आएपछि २० रोपनी जग्गासहित पाटी बनाइदिएका थिए । चारैतिर चार/चार वटा ठूला ठूला काठका खम्बा खडा गरी सोह्रवटा खुट्टाको टेकामा ठड््याइएको पाटी भएकाले सोह्रखुट्टे पाटी भन्ने गरिन्थ्यो । भोटु पाँडेले यस्तै पाटीे पनौतीमा पनि बनाइदिएका थिए तर हाल दुवै पाटीको अस्तित्व छैन । वि.सं. २०७१ सालमा सडक विस्तारको नाममा रातारात सडक विभागले यसलाई भत्कायो ।

यी त पाटीपौवा, ठाँटी तथा धर्मशाला निर्माणसँग सम्बन्धित सङ्क्षिप्त ऐतिहासिक प्रसङ्ग मात्र हुन् । गाउँबस्तीमा पाटीपौवा, ठाँटी तथा धर्मशाला निर्माणसँग सम्बन्धित किस्सा–कथा मौखिक रूपमा ज्यादा भेटिन्छ । यस्ता संरचनासम्बन्धी लिखित इतिहास ज्यादै न्यून छ, जुन ज्यादै छिरल्लिएको अवस्थामा छ । आमजिन्दगीसँग गाँसिएका यस्ता आश्रयस्थलको मौखिक इतिहास सङ्कलन गरी अन्वेषण गर्न धेरै अर्थमा बाँकी नै छ ।

बहुपक्षीय उपयोग

मूलतः बटुवा, खेताला, गोठालालाई घामपानी, हुरी–बतास, झरी बादलजस्ता प्रतिकूल मौसमबाट ज्यान ओताउन सहज होस् भनी सार्वजनिक आश्रयस्थलका रूपमा पाटीपौवा निर्माण गरिएको हुन्छ । धार्मिक क्षेत्र वा देवस्थलमा भक्तजनको आश्रयका लागि पाटीपौवा निर्माण गरिएको पाइन्छ । यद्यपि पाटीपौवाको उपयोगिता यतिमा मात्र सीमित रहँदैन । देश, काल र परिस्थिति अनुसार यस्ता सार्वजनिक आश्रयस्थलको बहुपक्षीय उपयोग भएको देखिन्छ ।

विगतमा पाठशाला नभएको अवस्थामा कतिपय ठाउँमा पाटीपौवा वा ठाँटीलाई पठनपाठन गर्ने थलोका रूपमा पनि प्रयोग गरिएको पाइन्छ । केही ठाउँमा विद्यालयको नाम पनि ठाँटी शब्दसँग जोडिएको छ ।  जस्तैः लमजुङको पसगाउँ ठाँटी मावि तथा पाल्पाको दरैठाँटी मावि । यसले पाटीपौवा वा ठाँटीमा शिक्षादीक्षा हुन्थ्यो भन्ने तथ्यलाई इङ्गित गर्छ । दुराडाँडास्थित धुवाँउने ठाँटीमा भाषा पाठशाला सञ्चालन भएको स्थानीय अग्रजहरूबाट सुनिँदै आएको हो ।

कतै कतै त जागरुक व्यक्तिहरूले पाटीपौवा वा ठाँटीमा पुस्तकालय सञ्चालन गरी स्थानीय पठन संस्कृतिलाई योगदान दिएको पाइन्छ । दुराडाँडाको धुवाँउने ठाँटीमा पण्डित तोयनाथ अधिकारी, मुखिया हरिभक्त पौडेल, लप्टन शेषकान्त अधिकारी, श्रीकान्त अधिकारीलगायतका अग्रजले २००८ सालमा ‘प्रभात’ नामक पुस्तकालय सञ्चालन गरेको प्रसङ्ग विजयराज न्यौपानेले आफ्नो कृति ‘लमजुङको साहित्यिक इतिहास’ मा उल्लेख गरेका छन् (न्यौपाने, २०६८, पृ.२४) ।

गाउँघर र शहरबजारबीच पाटीपौवा प्रयोगमा केही भिन्नता देखिन्छ । गाउँघरको पाटीपौवामा बटुवा तथा आमजनताले आश्रय लिने गर्छन् । यसका अतिरिक्त तीज, दशैँ–तिहारजस्ता चाडवाडमा भेला भई नाचगान र रामरमितामा गर्ने पनि गरिन्छ । यस्ता पाटीपौवामा विवाह–व्रतबन्धजस्ता सामाजिक जमघटका अवसरमा धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक अनुष्ठान गरी भोजभतेर गरिएको दृश्य पनि देखिन्छ ।

यस्ता सार्वजनिक आश्रयस्थलमा स्थानीयस्तरको भेला, मेला एवं बैठक आयोजना पनि गरिन्छ । यस दृष्टिले गाउँघरका कतिपय पाटीपौवा सामुदायिक भवनका रूपमा पनि प्रयोग भएको छनक मिल्छ ।

शहरबजारको पाटीपौवामा बिहान–बेलुका भजनकीर्तन गर्ने, किरियापुत्री बस्नेजस्ता गतिविधि हुने गरिएको पाइन्छ । शहरबजारका कतिपय पाटीपौवामा कामबाट फर्केपछि साथीसङ्गीसँग भेटघाट गरी वार्तालाप गर्ने थलोका रूपमा पनि प्रयोग गरिएको देखिन्छ ।


विगतमा काठमाडौँ उपत्यकाका सत्तल वा पाटीलाई परम्परागत क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको दृष्टान्त पनि भेटिन्छ । मल्लकालमा ल्हासाको व्यापारबाट फर्केका व्यापारी दुई हप्ता जति घरपरिवारसँग घुलमिल हुँदैनथे । यस्तो अवस्थामा उनीहरू पाटीपौवा तथा सत्तलमा आश्रय लिन्थे ।

उनीहरूले आफूलाई कुनै रोग लागेको भए परिवारजन सङ्क्रमित नहोऊन् भनी सत्तल, पाटी वा सामुदायिक भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गर्थे । यो क्रम २००७ सालसम्म चल्यो । यस्तो प्रसङ्ग कमलरत्न तुलाधरको पुस्तक ‘क्याराभान टु ल्हासा’ मा पढ्न पाइन्छ ।

थारू समुदायमा पनि ठाँटीघर प्रचलनमा रहेको पाइन्छ । नागरिक अनलाइनमा अर्जुन ओलीले २०७८ साल चैत १८ गते लेखेअनुसार थारू समुदायमा पहिले–पहिले बाहिरबाट आउने पाहुनालाई आफ्नो मूल घरमा नसुताउने चलन थियो । पाहुनालाई मिठो मसिनो खुवाउने तर मूल घरमा नसुताई ठाँटीघरमा सुताउने गरिन्थ्यो ।

लेखक डा. कृष्ण सर्वहारीका अनुसार थारू समुदायका मुखिया अर्थात् बडघरले ठाँटीघरमा बैठक राख्थे । ठाँटीघरमा अन्नपात पनि सुकाइन्थ्यो । थारू समुदायको परम्परासँग जोडिएको ठाँटीघर पछिल्लो समयमा तीव्र गतिमा हट्दै गएको छ ।

स्थाननाम

असङ्ख्य पाटीपौवा तथा ठाँटी रहेको देशमा पाटीपौवा तथा ठाँटीबाट बनेका स्थाननाम नहुने कुरै भएन । पौवा भञ्ज्याङ (पाँचथर) तथा काठमाडौँमा जहरसिङ पौवा, चुच्चेपाटी, सोह्रखुट्टे, जोरपाटी र ललितपुरमा पुल्चोकपाटी, भैँसीपाटी, सुनधारापाटी, बालकुमारीपाटी, कुमारीपाटी छन् । त्यस्तै बाहुनीपाटी (सिन्धुपाल्चोक), ठाँटीपोखरी (गोरखा) तथा धुवाँउने ठाँटी, खत्री ठाँटी (लमजुङ) आदि केही उदाहरण हुन् ।

यसैगरी कास्कीमा वनठाँटी, वीरेठाँटी, रानीपौवा, अर्घौं पौवा रहेको छ भने स्याङ्जामा ढुङ्गेठाँटी, पर्वतमा बाहाकी ठाँटी तथा अर्घाखाँचीमा लामपाटी, बल्कोट पौवा र दैलेखको दुल्लु पौवा आदि पाटीपौवासँग साइनो गाँसिएका स्थाननाम हुन् । अछाम जिल्लाको तत्कालीन गाविसको नाम नै ठाँटी रहेको पाइन्छ ।

कतिपय ठाउँमा पाटीपौवा गायब भइसकेका छन् । अब तिनको नाम मात्र बाँकी छ । देशको राजधानीमा रहेको सोह्रखुट्टे पाटीलाई यसको ज्वलन्त दृष्टान्तका रूपमा लिन सकिन्छ । यो पाटी कसरी लोप भयो भन्नेबारे अगाडि नै चर्चा भइसकेको छ । यसैगरी प्रकाश दर्नालले रानीपोखरीको दक्षिणी भागमा ‘हात्तीपाटी’ नामले चिनिने गोलाकार पाटी रहेको र हाल त्यो पाटी लोप भइसकेको उल्लेख गरेका छन् ।

साहित्यकार कृष्णप्रसाद पराजुलीको चर्चित कृति ‘पूर्व एक नम्बर’ ले काभ्रे र सिन्धुपाल्चोक जिल्लाको मीठो चिनारी दिन्छ । त्यस कृतिमा काभ्रे र सिन्धुपाल्चोक जिल्लामा रहेका केही पाटीपौवाको नाम पनि समाविष्ट छ । जस्तैः भैँसेपाटी (साँगा), मथुरापाटी (फूलबारी), श्यामपाटी (दाप्चा), सोह्रखुट्टेपाटी (पनौतीफाँट), ठाँटीपाटी (भमरकोट), जोरपाटी (पाँचखाल), बालुवापाटी (देउपुर), हिगुवापाटी (महादेवस्थान) आदि ।

राणा प्रधानमन्त्री देवशमशेरलाई पदमुक्त गरी धनकुटा धपाइँदा साँगाको पाटीमा एक रात बिताएको प्रसङ्ग पनि ‘पूर्व एक नम्बर’ मा भेटिन्छ (पराजुली, २०५०, पृ.८९–९०) ।

पाटीपौवासँग जोडिएका यस्ता अनगन्ती स्थाननामलाई मिहिन ढङ्गले अध्ययन गर्ने हो भने नेपाली जनजीवनको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पाटाहरू उद्घाटित हुन सक्छन् । यसबाट लोकजीवनमा विद्यमान परोपकारी प्रवृत्ति, स्थाननाम, यात्रा संस्कृति एवं स्थानीय भूगोलबारे पनि अमूल्य जानकारी प्राप्त गर्न सकिन्छ ।

यस्ता पाटीपौवाबारे अध्ययन गर्दा सार्वजनिक आश्रयस्थलको वास्तुशिल्प, वास्तुकला, निर्माण सामग्री आदिबारे विभिन्न लुकेका रोचक पक्ष खोतल्न सकिन्छ । पाटीपौवासम्बन्धी अध्ययनले स्थानीय इतिहास लेखनमा दरिलो योगदान पुग्ने देखिन्छ ।

समापन

वर्तमान घडीमा पाटीपौवा, सत्तल, देवल, धर्मशालाजस्ता लोकहितैषी सम्पदा चौतर्फी अतिक्रमण र बेवास्ताको चपेटामा परिरहेका छन् । शहरी क्षेत्रका कतिपय सार्वजनिक पाटीपौवा निजी प्रयोगमा समेत आएको देखिन्छ । बढ्दो बसाइँ–सराइ, सडक विस्तार, शहरीकरण, विकास परियोजनाको विवेकविहीन गतिविधि आदिका कारण एकातिर भएका पाटीपौवा बिरानो बन्दै गएका छन् भने अर्कोतिर तीव्र गतिमा लोप हुँदै गएका छन् ।

कतिपय अवस्थामा प्राकृतिक कारणले समेत यस्ता सम्पदामा क्षति पुगिरहेको छ । प्रकाश दर्नालले पूर्वउद्धृत लेखमा वि.सं. १८९० र १९९० को भूकम्पबाट पाटीपौवा तथा सत्तलहरू भत्किएको उल्लेख गरेका छन् । २०७२ सालको भुइँचालोले काष्टमण्डपलगायत धेरै सत्तल तथा पाटीपौवा क्षतिग्रस्त हुन पुगेको तथ्य सर्वविदितै छ ।

समयको बदलिँदो प्रवाहसँगै पाटीपौवा उपयोगविहीन बन्नु एक अर्थमा स्वाभाविक छ । विगतमा मोटरमार्ग थिएन । पैदलयात्राको विकल्प नभएको त्यस कालखण्डमा अधिकांश यात्रु पैदल यात्रा गर्थे । बाटोमा सुविधायुक्त होटल नहुँदा जहाँतहीँ बास पाउने अवस्था थिएन । यस्तो अवस्थामा पाटीपौवा वा ठाँटीको सहारा लिनु एक मात्र विकल्प थियो ।

अहिले समयले काँचुली फेरिसक्यो । देशभर माकुराको जालोजस्तै मोटरबाटो निर्माण हुन थाले । ठाउँठाउँमा सुविधायुक्त होटल खुल्न थाले । अब पाटीपौवामा बास बस्नुपर्ने आवश्यकता रहेन । सौखको रूपमा बाहेक पैदल यात्रा गर्नुपर्ने विवशता हट्दैछ । मोटरमार्ग प्रयोग गर्ने प्रचलन आमजिन्दगानीको हिस्सा बनिसक्यो । हाम्रो वर्तमान युगको वास्तविकता यही हो ।

समयले नै पाटीपौवा, ठाँटी वा धर्मशालाको महत्व घटाइदियो । यसको अर्थ यस्ता सम्पदालाई बेवास्ता गर्नुपर्छ भन्ने चाहिँ कदापि होइन । यिनीहरू हाम्रा सामाजिक तथा सांस्कृतिक सम्पदा हुन् । यस्ता सम्पदासँग हाम्रो परोपकारी परम्परा, यात्रा संस्कृति एवं लोकजीवनका धेरै आयाम जोडिएका छन् ।

यिनीको वैज्ञानिक तरिकाले सर्वेक्षण गरी लगत राख्न आवश्यक छ । सोही आधारमा बिग्रे भत्केका तथा भग्नावशेष अवस्थामा रहेका सम्पदालाई जनस्तर तथा राज्यस्तरको सहयोगबाट जीर्णाेद्धार कार्य अघि बढाइनुपर्ने टड्कारो खाँचो छ । यस्ता सम्पदाको उचित संरक्षण र संवर्धन आवश्यक छ । यस दिशामा राज्यको विवेकशील कदम आवश्यक छ । परोपकारी भावनासँग जोडिएको यस्तालाई नयाँ पुस्तालाई देखाउन श्रेयस्कर रहन्छ, जसबाट भावी पुस्ता अभिप्रेरित हुन सकून् ।

‘आवश्यक वस्तु संरक्षण ऐन, २०१२’  ले पनि  यस्ता सम्पदालाई महत्व दिएको छ । त्यस ऐनले आवश्यक वस्तुको परिभाषामा ‘सर्वसाधारणको उपयोगको पाटी, पौवा, सत्तलहरू’ लाई समाविष्ट गरिएको छ । कानुनले भन्दा पहिले नै पुर्खाले मन, वचन र कर्मले लोकहितका लागि पाटीपौवा र सत्तल निर्माण गर्ने सत्कर्म आत्मसात् गरिसकेका छन् । हाम्रा पुर्खाका सत्कर्मबाट अभिप्रेरित भई लोकहितैषी काममा हात बढाउन हाम्रा पाटीपौवा अटल प्रेरणास्रोत हुन् । 

  

Author

यमबहादुर दुरा