• २६ पुस २०८१, शुक्रबार

होलीमा बिना हेल्मेट मोटरसाइकल चलाउने २३ जना कारबाहीमा

blog

लीलाराज खड्का 

बिर्तामोड, चैत १२ गते । होलीमा जथाभाबी र बिना हेल्मेट मोटरसाइकल चलाउनेहरूलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । होलीका बेला जथाभाबी कार्य गर्दै हिँड्ने र बिना हेल्मेट मोटरसाइकल कुदाउनेहरूको आज बिहानै १० बजेसम्ममा २३ वटा मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीणकुमार भट्टराईले बताउनुभयो ।

प्रहरीले यसरी बिना हेल्मेट सडकमा मोटरसाइकल हुइँक्याउने तथा जथाभाबी गर्नेलाई चेतावनी स्वरूप मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले यस अघि होली सम्बन्धी सचेतनाका लागि माईकिङ्ग समेत गरेको थियो । 

झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । होलीलाई मित्रवत् पर्वको रूपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको छ । होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले सोमवार बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन भएको बताउनुभयो । 

विशेषगरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरुलाई निर्देशन दिइसकेको केसीले बताउनुभयो ।

यसका लागि आइतबार जिल्लाभरका इन्चार्जहरूलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइएको समेत प्रहरी प्रमुख केसीले बताउनुभयो । होली मनाउने क्रममा कसैको इच्छा विपरीत बाधा पुग्ने गरी रङ्ग नलगाउन, महिला तथा अपरिचित व्यक्तिहरूको मन्जुरी बिना जबरजस्ती होली खेल्नेलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न निर्देशन जारी गरेको केसीको भनाइ छ ।  

होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिल समेत गरेको छ ।