• १३ साउन २०८१, आइतबार

बेगनासमा ड्रागन बोट रेस सुरु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ११ गते। पोखरा महानगरपालिकाको दोस्रो ठूलो ताल वेगनासमा आइतबारबाट ड्रागन बोट रेस सुरु भएको छ। पोखरा वडा नम्बर ३१ को तालमा नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस सुरु भएको हो। 

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ताल किनारमा आयोजित समारोहमा प्रतियोगिता सुरुआत गर्नुभयो। १४ टिमको सहभागिता रहेको प्रतियोगिता सोमबारसम्म चल्नेछ। कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको उल्लेख गर्नुभयो।

“खेलकुद पछिल्लो समय सफ्ट कूटनीतिको माध्यम पनि बनेको छ, खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँले खेलकुदमा राजनीति हुन नहुने जनाउँदै त्यसलाई रोक्ने प्रतिबद्धता गर्नुभयो। 


नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले लेखनाथ पोखरा महानगरमा गाभिएपछि पनि लेखनाथबासीले महानगरको आभास गर्न नपाएको गुनासो गर्नुभयो। 

पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटक प्रवद्र्धन गर्न रेस सञ्चालन गर्न लागिएको होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताउनुभयो। 

प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल हुने छन्। दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसियसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार जितेका छन्। पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने छन्। यो खेल सोमबार हुनेछ। 

चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको ढुंगा दौड हो। १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ। पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो। रेसमा सहभागी हुन विमान चार्टड गरी एक सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो।