काठमाडौँ, चैत ९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले वैकल्पिक नेता बालेन्द्र शाह, हर्क सम्पाङ र रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तै विद्रोही भएको टिप्पणी गर्नुभएको छ।
ह्वइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रबार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मैनालीले यो देशको परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्ट रूपमा अरू भएको उल्लेख गर्नुभएको हो।
‘जुनसुकै पार्टीको राजनीति गरे पनि प्रगतिशील र क्रान्तिकारी राजनीति गर्नुस्। यसरी नै रवि लामिछाने, बालेन शाह र हर्क सामपाङ्गले गरे’ उहाँले भन्नुभयो, ‘जति पनि आन्दोलन भए त्यसको नेतृत्व प्रचण्डले गर्नुभयो। हर्क, बालेन र रविको परिवर्तनको नेता प्रचण्ड हुनुहुन्छ। त्यस्तै परिवर्तनगामी नेता बन्ने सपना देख्नुस्।’
यो देशको युगान्तकारी परिवर्तन गर्न १० वर्षे जनयुद्ध गर्न बन्दुक उठाएको उहाँको जिकिर छ। ‘यो देशमा महिलाले जोत्नु हुँदैन, किरिया बस्नु हुँदैन भन्ने थियो माओवादीले बन्दुक बोकाएर यो मुलुकको रूपान्तरण भएको हो। सामन्ती राजतन्त्रको जरो नै उखेलेर देशमा गणतन्त्र स्थापना भएको हो।