• १५ वैशाख २०८१, शनिबार

‘खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै’

blog

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत ‘१२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०’ शुक्रबार समापन कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं, चैत ९ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।

नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत ४ गतेबाट सञ्चालन भएको ‘१२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०’ को चैत ९ गते शुक्रबार समापन कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुले उच्चस्तरको अनुशासनसहित उत्कृष्ट खेल कला प्रदर्शन गर्दै आफ्नो प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा महानिरीक्षक अर्यालले विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले महानिरीक्षक अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्‍याउनुहुने विभिन्न सङ्घ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभएको जानकारी दिनुभयो ।


महानिरीक्षक अर्यालले राज्यप्रदत्त महत्त्वपूर्ण जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्र विकासका लागि संगठनले आफ्नो स्थापना कालदेखि नै विभिन्न खेलकुद गतिविधि निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न खेलकुद सङ्घ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गर्नुभयो ।

शुक्रबार सम्पन्न लनटेनिस प्र्रतियोगिताको पुरुष एकलतर्फको खेलमा प्रदीप खड्काले रितिक रानालाई ६–४, ३–६ र ६–० ले, भने महिला एकलतर्फ अभिलाषा विष्टले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधि जित्नुभएको थियो । यसैगरी, मिक्स डबलमा रितिक राना र अभिलाषा विष्टको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधि जित्नुभएको छ ।

यसैगरी, ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भीष्मजंग गुरुङलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दीक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जित्नुभयो ।


४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जित्नुभयो ।

यसैगरी, ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ बिमल वाइबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जित्नुभयो । 

६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङकाे जोडीले विक्रम गुरुङ र चन्द्रबहादुर थापाको जोडीलाई  ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जित्नुभयो । 

११ वटा इभेन्ट्समा कुल १६२ जना सहभागी रहेको प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रङ्गशालास्थित लनटेनिस कोर्टमा सञ्चालन भएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणालगायत बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।