• १३ साउन २०८१, आइतबार

विश्वमै लोपोन्मुख खरमुजुरको गणना सुरु

blog

बाबुराम कार्की

वराहक्षेत्र, चैत ९ गते । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खरमुजुरको गणना सुरु गरिएको छ । नेपाल पन्छी सङ्घको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गणना सुरु गरिएको हो । 

घाँसे मैदानमा बस्ने दुर्लभ चराको गणना कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आठ दिनसम्म गणना गर्ने कार्यक्रम अनुसार आज शुक्रबार बिहान सप्तरीको गोबरगढाबाट सुरु गरिएको छ । गणनामा ३० जना चरा विज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको कोशीटप्पु वन्यन्तु आरक्ष कार्यालयले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सूचना अधिकृत विनयकुमार मिश्रका अनुसार लोपमुख खरमुजुर नेपालमा एक सय वटा मात्रै छन् । गत वर्ष कोशीटप्पुमा २४ वटा मात्र खरमुजुरको रेकर्ड गरिएको थियो । खेतबारीमा प्रयोग गर्ने विषादीका कारण मरेका किरा फट्याङ्ग्रा खाएर चराहरुको प्रजनन क्षमता कमजोर हुँदै गएकोले मयुरको सङ्ख्या लोपमुख अवस्थामा पुगेको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण पनि चराहरुको सङ्ख्यामा कमी हुँदै आएका छ ।” जलवायु परिवर्तनका कारण पछिल्लो समय तापक्रम बढ्नुका साथै उनीहरुको रहसन र वास्थानमा वातावरणीय प्रभाव पर्दा चरा सङ्कटमा परेको हो ।  

संरक्षण क्षेत्र स्थापना गरे पनि खरमुजुरको सङ्ख्या घट्दो छ । बाघभन्दा पनि सङ्कटापन्न अवस्थामा पुगेको यो चरा विश्वमै भारत, क्याम्बोडिया र नेपालमा मात्रै पाइने गरेको चराविद् डा. हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार घाँसे मैदान घट्दै जानु र प्राकृतिक रुपमै भालेको सङ्ख्या बढी र पोथीको सङ्ख्या कम हुँदै जादा लोपोन्मुख खरमयुरको सङ्ख्यामा कमी आएको छ । 

डा. बरालका अनुसार खरमुजुरको सङ्ख्याका हिसाबमा पहिलो भारत, दोस्रो क्याम्बाेडिया र तेस्रो नेपाल छ । पहिला बङ्गलादेशमा पनि पाइने गरेको खरमुजुर त्यहाँबाट लोप  भइसकेको छ । घाँसे मैदानमा बच्चा कोरल्ने र हिउँदमा सिमक्षेत्रको मैदानमा बस्ने चरा प्राकृतिक र मानवीय विनाशका कारण लोप हुँदै गएको छ । 

हाल नेपालको कोशीटप्पु, शुक्लाफाँटा र चितवनमा खरमुजुर पाइन्छ । बर्दियामा एक दशकयता खरमुजुर देखिन छाडेको छ । कोशीटप्पु क्षेत्रको घाँसे मैदानमा हिउँद समयमा डढेलो लाग्दा खरमुजुर सङ्कटमा पर्दै गएको चरा संरक्षणकर्मी अनिश तिम्सिनाले बताउनुभयो । पहिला सयौँको सङ्ख्यामा पाउने खरमुजुर कोशीटप्पु क्षेत्रमा औंलामा गन्ने सङ्ख्यामा पुगेको तिम्सिनाले बताउनुभयो । 

चराहरुको राजधानीको रुपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भएका ठूला सिमक्षेत्र, ताल र साना खोल्साहरु सुक्दै जाँदा पनि चराहरुको वासस्थान घट्दै गएको छ।वासस्थान घट्दै गएसँगै जलमा र घाँसे मैदानमा निर्भर रहने चराहरुको सङ्ख्या घट्दै गएको चराका जानकारहरु बताउँछन् । 

कोशीटप्पु वन्यजन्तु आरक्षको समवन्यमा नेपाल पन्छी सङ्घका मोहनविक्रम श्रेष्ठको नेतृत्वमा सुरु भएको पैदल मुजुर गणना कोशीटप्पु क्षेत्रको कोशी नदी क्षेत्रको घाँसेमैदान, आरक्षको पथरी, भाकालपुर, सिसौघाट र प्रकाशपुर क्षेत्रमा गणना गरिने जनाइएको छ ।