• १२ साउन २०८१, शनिबार

सरकारले गरिबी घटाउने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

blog

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्विरः कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ७ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताउनुभएको छ । अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको चर्चा गर्दै उहाँले त्यसलाई घटाउँदै शून्यमा झार्ने सरकारी योजना रहेको उहाँको भनाइ छ । 

पार्टीको काठमाडौँ जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गरिबिलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने बताउनुभयो । चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेस गर्दै आफूहरूले पनि त्यसअनुसार काम गर्ने बताउनुभयो । 

विगतमा एमाले नेतृत्वको सरकारले जनताको जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरू सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको अध्यक्ष ओलीले जिकिर गर्नुभयो । 

उहाँले जनताको दुःख, कष्ट हरण गर्नेगरी एमालेले यसअघि काम गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले पुनः त्यहीअनुरूप काम गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले सरकार परिवर्तन भएको छ । अघिल्लो सरकारजस्तो दुई वर्षमा ३ प्रतिशत गरिबी बढाउने हो भने सरकारमा हामी हुनु नहुनुको अर्थ हुँदैन । हामीले सरकार छोडेको अढाई वर्षमा गरिबी १७ प्रतिशतमा झारेका थियो । तर त्यो १७ प्रतिशतबाट अहिले फेरि २० दशमलव २६ प्रतिशतमा गरिबी बढ्यो ।’ त्यसलाई पुनः घटाउनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो । 

‘सडक बालबालिकाको हामीले रेस्क्यू गरेका थियौँ । सडक बालबालिका थिएनन् हाम्रो समयमा । हामीले ज्येष्ठ नागरिकहरूको व्यवस्था, एकल नागरिकहरूको व्यवस्था ग¥यो’ अध्यक्ष ओलीले थप्नुभयो, ‘सरकारले जनताको दुःख कष्ट हरण गर्नुपर्छ । पैतलामा बिझेको काँडा निकाल्नुपर्छ । ठुला कुरा मात्र गर्ने होइन, काम गरेर देखाउनुपर्छ ।’ अध्यक्ष ओलीले एमालेमाथि विपक्षहरूले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।