• १३ साउन २०८१, आइतबार

ध्यानको केन्द्र बनाउन चक्र विज्ञान सम्मेलन हुँदै

blog

पत्रकारलाई ध्यानबारे प्रशिक्षण दिनुहुँदै जीवन विकास विशेषज्ञ रमेश नेपाल।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ६ गते । नेपाललाई ध्यानको केन्द्र बनाउने उद्देश्यसाथ विराट चक्र विज्ञान सम्मेलन हुनेभएको छ । चैत १७ देखि २३ गतेसम्म हुने सो कार्यक्रममा पाँच हजारको सहभागिता रहने आयोजकको भनाइ छ । 

गौतमबुद्ध जन्मेको पावन भूमि लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान कक्षमा हुने सो कार्यक्रममा देशभरका ७५३ पालिकाबाट र विदेशमा रहेका २० देशबाट नेपालीहरु ध्यानका लागि नेपाल आउने आयोजक संस्था जीवन विज्ञानले जनाएको छ । ध्यानमार्फत नेपाललाई आध्यात्मिक पर्यटक भित्र्याई यहाँको आर्थिक समृद्धि कायम गर्न सकिने बुझाई आयोजकको छ ।  

जीवन विकास विज्ञ एलपी भानु शर्माका अनुसार सहभागीबाट प्रतिव्यक्ति १० हजार रुपियाँ शुल्क लिएर सात दिनसम्म आध्यात्म ज्ञान सिकाउने बताउनुभयो । मानिसको जीवनलाई स्वस्थ, शान्त र खुशी बनाउन आध्यात्मिक ज्ञान अनिवार्य रहेकाले सम्मेलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

सात दिनमा सात चक्रको ध्यान गराउने जानकारी गराउनुहुँदै विज्ञ शर्माले २४ गते आध्यात्मिक जागरण उत्सव कार्यक्रमको आयोजना हुने र त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत सहभागिता रहने बताउनुभयो । विहान ७ः३० बजेदेखि अपरान्ह ५ बजेसम्म ध्यानको कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । 


कार्यक्रममा सहभागीले आउनेजाने यातायात खर्चको व्यवस्थापन र बस्ने व्यवस्था आफै गर्नुपर्ने आयोजक संस्था जीवन विज्ञानले जनाएको छ । खाने व्यवस्था भने आयोजकले गर्ने शर्माले जानकारी दिनुभयो । जीवन विज्ञान अभियान अहिले विश्वको ६५ देशमा पुगेको र १७ सय प्रशिक्षक तयार भएको उहाँले बताउनुभयो ।

‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान’ नारा दिएको यो कार्यक्रमले आत्मशान्ति, चित्त शान्ति र स्वस्थताका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ । ज्ञान बृद्धि गर्न मानिसले विभिन्न पुस्तक पढ्ने गरे पनि आफूलाई पढ्ने काम नगर्ने हुनाले ध्यान (आध्यात्म) मानिस आफू स्वयम्लाई पढ्ने विज्ञान भएको उहाँले बताउनुभयो ।

आज केही पत्रकारलाई सो कार्यक्रमबारे जानकारी गराउँदै जीवन विकास विशेषज्ञ शर्मा, रमेश नेपालले पत्रकारलाई ध्यान गर्न सिकाउनुभयो । कार्यक्रममा २२ जना पत्रकारको सहभागिता थियो । सञ्चार क्षेत्रलाई आध्यात्मबारे जानकारी गराउन सक्दा चाँडै जनमानसमा ध्यानबारे जानकारी हुने भन्दै सञ्चार क्षेत्रका लागि आध्यात्म कार्यक्रम आवश्यक रहेको विज्ञ शर्माले बताउनुभयो ।