• ११ मंसिर २०८१, मङ्गलबार

जिल्ला अस्पतालको एम्बुलेन्स प्रयोग विहीन

blog

जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा रहेको प्रयोगमा विहीन एम्बुलेन्स । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, चैत ६ गते । 
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा रहेको एम्बुलेन्स प्रयोगमा विहीन भएको छ । करिब तीन वर्ष अघि प्रदेश सरकारमार्फत प्राप्त उक्त एम्बुलेन्स थन्किएको छ ।

यो जिल्लाकै एक मात्र ‘ख’ वर्गको एम्बुलेन्स हो । भेन्टिलेटर, कार्डियो मोनिटर, अक्सिजन सिलिण्डर र स्वास्थ्यकर्मीसहितको व्यवस्था हुने एम्बुलेन्स जिल्ला अस्पतालको परिसरमा वर्षौँदेखि थन्किएको हो ।

सरकारी एम्बुलेन्स प्रयोगमा नआउँदा नागरिकले चर्को भाडा तिरेर निजी तथा सङ्घ संस्थाका एम्बुलेन्स प्रयोग गर्न बाध्य भएका छन् । ठुलो एम्बुलेन्स र सडकको अभावका कारण साथै जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल रुम्जाटारका प्रमुख डा.साजन दुवालले बताउनुभयो ।

ठुलो भएका कारण जिल्लाका सबै स्थानमा लैजान कठिनाइ देखिएको प्रमुख दुवालले बताउनुभयो । यसका साथै इन्धन पनि बढी लाग्ने भएकाले सञ्चालन गर्न समस्या रहेको उहाँको भनाइ छ । यसलाई प्रदेश मन्त्रालयमा फिर्ता गरेर अर्को सानो एम्बुलेन्स ल्याउने योजना बनाइएको प्रमुख डा. दुवालले जानकारी दिनुभयो ।