पोखरा समाचारदाता
पोखरा, चैत ६ गते । पोखरा महानगरपालिका–१५ मा १२ मिटर लम्बाइको पक्की पुलको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ठुली मजुवास्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने उक्त पुलको सोमबार शिलान्यास गर्नुभएको हो ।
प्रमुख आचार्यले यस पुलको निर्माणले स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुलका लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । प्रमुख आचार्यले भन्नुभयो, “पैसा नभएका कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला ।”
उहाँले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको भोलिपल्ट पुलको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सोही सन्दर्भमा प्रमुख आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेपछि फूलबारी होटल जस्तो सिधा पर्यटकसँग सरोकार राख्ने ठुलो व्यापारिक प्रतिष्ठान खुलाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । आचार्यले पुल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई धन्यवादसमेत दिनुभयो ।
पुल निर्माणको जिम्मा पाएको ज्ञान एनएम बिडिबी जेभीका प्रतिनिधि इन्जिनियर खेमराज तिमिल्सिनाले महानगरपालिकाले दिएको डिजाइन र स्टिमेट अनुसार गुणस्तरीय रूपमा समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले कम्पनीसँग दुई करोड ३१ लाख २० हजार ४८७ मा पुल निर्माणको सम्झौता भएको जानकारी दिनुभयो । १२ मिटर लम्बाइ रहने पुलको दुवैतर्फ १.२ मिटरको फुटपाथ, नौ मिटर उचाइ र २०८१ फागुन १८ गते पुल निर्माणको अन्तिम म्याद रहेको छ । वडाध्यक्ष तोरण बानियाँले यस पुल आफू वडाध्यक्षमा निर्वाचित भएर आउनु अगावै डिपिआर तयार भई ५० लाख बजेट विनियोजन भएको र अहिले बजेट थप पछि पुल निर्माणको थालनी गर्न सम्भव भएको बताउनुभयो । उहाँले यस क्षेत्रका अधिकांश बासिन्दा बसाइ सरी आएकाले यो पुलको निर्माणले दुई बस्तीलाई जोड्नुका साथै नयाँ आपसी सम्बन्धको विकास हुने आशा व्यक्त गर्नुभयो । वडाध्यक्ष बानियाँले यस क्षेत्रमा रहेको फूलबारी होटल सञ्चालनमा ल्याउन सके यस क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।