• १२ मंसिर २०८१, बुधबार

जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र स्थापना

blog

जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, चैत ५ गते ।
जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर (विपश्यना केन्द्र) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका– ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ ।

स्थानीय प्रेमरज गिरी, डाक्टर निलम खड्कासहितको टिमले विपश्यना केन्द्र स्थापना गरेको हो ।  केन्द्रमा १० मिनेट आनापान ध्यान अहिले भइरहेको गिरीले जानकारी दिनुभयो । उहाँले १० दिनसम्मको पनि कोर्स भएकाले यसको निरन्तरताको आवश्यकता रहेको जानकारी दिनुभयो ।

सदरमुकामबाट गाडीमा एक घण्टा टाढा सो क्षेत्रमा छेउमा तिला नदी, माथि जङ्गल, वरिपरि स्याउका बिरुवा सो केन्द्रमा छन् । सञ्चालक गिरीले मानव जीवनलाई शान्त बनाउनका लागि यो केन्द्र स्थापना गरिएको बताउनुभयो । आफूले विभिन्न स्थानमा यो कोर्ष लिएको बताउनुहुँदै मानिसलाई असल बनाउने, शान्त बनाउने उद्देश्यले यो केन्द्रको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

उहाँले आफु स्वास्थ्यकर्मी भएको यो पनि मानव स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण भएकाले इच्छुक महानुभावहरुले यस केन्द्रमा १० दिने कोर्स लिन सकिने बताउनुभयो । केन्द्रमा महिला र पुरुषका लागि भिन्नाभिन्नै अस्थायी आवास टेन्टको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

विपश्यना केन्द्रमा आनापान गर्न पुगेका जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका सहायक न्यायाधिवक्ता रेनुका राईले मानव जीवनका लागि यो अध्ययन आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिले आनापानसँगै यो कोर्स लिन आवश्यक रहेकोमा जोड दिनुभयो । सञ्चालक गिरीले विपश्यना शिविरमा जीव हत्या नगर्ने, चोरी नगर्ने, ब्रह्मचर्य पालना गर्ने, झुटाे नबाेल्ने, नशालु पदार्थ सेवन नगर्ने यसका साथै खाने, उठ्ने अन्य दैनिक क्रियाकलाप पनि शिविरमा सिकाइ हुनेमा जोड दिनुभयो ।

  मानिसहरु अहिले हिंसात्मक गतिविधिमा बढी लाग्ने, तनाव लिने तथा सामाजिक विकृतिमा बढ्वा भइरहेको समयमा यस प्रकारको कोर्सले शान्त र शरीर स्वस्थ बनाउने बताइएको छ । यस कोर्समा आवश्यकता अनुसार योगाभ्यास गरिँदै आएको छ ।