बोमलाल गिरी
नवलपुर, चैत ५ गते । चैत महिना, ढकमक्क गुराँस फुल्ने समय हो तर गुराँस ओइलिएर झरिसकेका छन् । बोटबिरुवाले पालुवा फेरेर नयाँ पालुवा नआइसकेकाले पडाड नै उराठलाग्दो देखिन्छ तर त्यही उराठलाग्दो पहाडको काखमा यस्तो सुन्दर हरियाली छ कि त्यसले इलामको चिया बगानलाई नै बिर्साइदिन्छ ।
नवलपुर जिल्लाको बौदीकाली, हुप्सेकोट र बुलिङटार गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसोले हरियाली छाएको छ । सूर्योदय, सूर्यास्त र हिमाली क्षेत्रको दृश्यावलोकनका लागि उपयुक्त रहेका यी पालिकाका पहाडी क्षेत्रका सबैभन्दा उच्च तथा पर्यटकीय सम्भावना बोकेका रमणीय ठाउँमा यतिबेला अम्रिसोले थप रौनक र सुन्दरता थपेको छ ।
जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा हुप्सेकोट गाउँपालिका–५, राम्चेमा तीन वटा कबुलियती वन समूह (रुद्रापुरगढी, चिलाउनेडाँडा र चिताखोर) मा व्यावसायिक अम्रिसो खेती गरिएको छ ।
एउटा समूहमा १० घरपरिवार रहेका र हरेक समूहले वर्षमा कम्तीमा १५ लाख रुपियाँ आम्दानी गरिरहेको कबुलियती वन विकास कार्यक्रममा सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा अम्रिसो खेती भइरहेको छ ।
बौदीकाली–४ मा १९ वटा समूहले सामूहिक अम्रिसो खेती गरिरहेका वडाध्यक्ष मानबहादुर सारुमगरले जानकारी दिनुभयो । यहाँका प्रायः हरेक घरपरिवार समूहमा रहेको र सबैले राम्रै आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ ।
कबुलियती वन विकास कार्यक्रमका सुपरभाइजर रानाका अनुसार गत वर्ष एउटा समूहले किलोको १५० रुपियाँका दरले ८० देखि ९० क्विन्टलसम्म अम्रिसो बेचेर तीन करोड १८ लाख ५६ हजार आम्दानी गरेको जानकारी दिनुभयो ।
ठाउँठाउँमा अम्रिसो सङ्कलन केन्द्र पनि बनाइएको छ । सङ्कलन केन्द्रमा जम्मा भएको अम्रिसो बुटबल, भैरहवा, नारायणघाट, काठमाडौँ, पोखरासम्म पुग्ने गरेको स्थानीय उपभोक्ता सूर्यबहादुर सारूले जानकारी दिनुभयो । ती सहरमा खपत भएर बढी भएको अम्रिसोको कुचो भारत निर्यात हुने गरेको उहाँले बताउनुभयो ।
तर अम्रिसोको जति उत्पादन भएको छ, त्यस अनुसारको प्रचारप्रसार र बजारीकरण हुन नसकेको स्थानीय उपभोक्ता आशबहादुर दराईमगरले गुनासो गर्नुभयो । बौदीकाली–४ का अध्यक्ष सारूले पनि बाटो विस्तार र प्रचारप्रसार भएमा अम्रिसोलाई थप विस्तार गर्न सकिने बताउनुभयो ।
“बाटो साँघुरो छ, ठुला मालवाहक गाडी यहाँसम्म आउन सक्दैनन्,” अध्यक्ष सारुले भन्नुभयो, “बाटो विस्तार गर्ने, कालोपत्रे गर्ने, काम गर्न सकियो, अलिकति प्रचारप्रसार र बजारीकरण गर्न सकियो भने यहाँका जनतालाई सहर खोज्दै अन्त जान पर्दैन, न त वैदेशिक रोजगारीको बाटो नै रोज्नु पर्छ तर बाटो साँघुरो छ । ठुला मालवाहक गाडी गाउँसम्म पुग्दैनन्, प्रचारप्रसार छैन ।”
२०७२ सालसम्म यहाँ नाङ्गो डाँडा मात्र थिए तर डिभिजन वन कार्यालयले स्थानीयलाई अम्रिसोको महत्व र यसका फाइदाका बारेमा जानकारी दियो । पहिलो वर्ष हरेक घरलाई दुई हजारका दरले बिरुवा रोपाइयो, अर्को वर्ष थप तीन हजारका दरले बिरुवा रोपियो । बिरुवा यसरी नै थपिँदै गए । वर्षमा एक पटक झाडी सफा गर्नेबाहेक अरू परिश्रम नलाग्ने र आम्दानी पनि राम्रै हुने भएपछि अम्रिसोप्रतिको आकर्षण बढ्दै गएको डिभिजन वन कार्यालयको बुझाइ छ ।
गरिबीको रेखामुनि रहेका अथवा मानव सूचकाङ्कलाई आधार मानेर जिल्ला डिभिजन वन कार्यालयले कबुलियती वन समुदायलाई हस्तान्तरण गर्ने गरेको डिभिजन वन अधिकृत शिशिर लम्सालले बताउनुभयो ।
पहिले एकै पटक पट्टा दिएर ४० वर्षका लागि वन हस्तान्तरण हुन्थ्यो भने अहिले वन नियमावली २०७९ अनुसार १० वर्षका लागि कबुलियती वन समुदायलाई हस्तान्तरण गरिन्छ र त्यसको लाभका आधारमा हरेक १०/१० वर्षमा नवीकरण हुँदै जान्छ ।