बेनी समाचारादता
म्याग्दी (बेनी), चैत ४ गते । म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सडक, पर्यटन पूर्वाधार, खेलकुद खानेपानीलगायत जिल्लाको विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकारले तयार गर्न लागेको आयोजना बैङ्कमा समावेश गर्न जिल्लाका योजनालाई गौरवको योजनाका रूपमा मुख्य प्राथमिकतामा राखी बजेट विनियोजनको व्यवस्था मिलाउनसमेत सङ्घ र प्रदेश सरकारलाई राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले अनुरोध गरेका छन् ।
जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभामा सहभागी राजनीतिक दल, जिल्लाबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले सामूहिक रूपमा जिल्लाको विकास योजनालाई प्राथमिकीकरण गरेर २७ वटा साझा योजना तय गरेका हुन् । सङ्घ र प्रदेश सरकारसँग बजेट माग गर्दा प्राथमिकीकरण गरेका साझा योजनालाई आधार मानेर माग गर्नुपर्ने जिल्ला सभाबाट निर्णयसमेत गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।
जिल्लाको रणनीतिक महत्वका ११ वटा सडक योजना, पर्यटन प्रवर्धनका नौ, सडक पुलका चार, खानेपानीका दुई र खेलकुद क्षेत्रको विकासका लागि एउटालाई साझा योजनाका रूपमा तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्ला सभामार्फत हामीले म्याग्दीको विकासका लागि योजनाको प्राथमिकीकरण गरी सामूहिक प्रतिबद्धता व्यक्त गरेका छौँ । प्रदेश र सङ्घ सरकारसँग साझा योजनालाई आधार मानेर बजेट विनियोजन गर्न पहल गर्दछौँ ।”
जिल्लाको विकासका लागि राजनीतिक दल र जनप्रतिनिधिको साझा प्रतिबद्धताले प्रदेश र सङ्घ सरकारसँग बजेट माग गर्न सहज हुने गण्डकी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेसम जुग्जालीले बताउनुभयो । जिल्लाको विकासका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको उहाँको भनाइ थियो ।
दुई दिनसम्म सञ्चालन भएको जिल्ला सभामा जिल्लास्थित सङ्घ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाको प्रस्तुतीकरण गरेका थिए । बिहीबार प्रतिनिधि सभाका सदस्य खमबहादुर गर्बुजा (खमबीर) ले जिल्ला सभाको उद्घाटन गर्नुभएको थियो । राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाको सामूहिक प्रतिबद्धता जिल्लाको विकासका लागि कोसेढुङ्गा साबित हुने उहाँले बताउनुभयो ।