• १४ मंसिर २०८१, शुक्रबार

सुविधा नपाएपछि आन्दोलनको घोषणा

blog

अमरराज नहर्की

तनहुँ, चैत ४ गते  । अपाङ्गता भएका व्यक्तिले कानुन अनुसारको सेवा, सुविधा र अवसर नपाएको भन्दै तनहुँका एक व्यक्तिद्वारा आन्दोलनको घोषणा गर्नुभएको छ । म्याग्दे गाउँपालिका–७ का ४६ वर्षीय शारीरिक अपाङ्गता हुनुभएका दीपक भण्डारीले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्नुभएको हो । 

गत वर्ष म्याग्दे गाउँपालिकाको कार्यालयअगाडि धर्नामा बस्नु भएका भण्डारीले माग पूरा नभए चैत ६ गतेदेखि काठमाडौँमा अनिश्चितकालीन धर्ना बस्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ अनुसारको सेवासुविधा र अवसर नपाएर आन्दोलन गर्नु परेको भण्डारीले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको बाँच्न पाउने अधिकार अन्तर्गत एक जना रेखदेख गर्ने व्यक्ति पाउने व्यवस्था भए पनि सुविधा नभएको उहाँले बताउनुभयो । 

गत वर्ष गाउँपालिकाको प्राङ्गणमा धर्ना बसेको बेला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधिको रोहबरमा भण्डारीसँग उक्त नियमावली अनुसारको सेवा, सुविधा र अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पूरा नभएकोले फेरि धर्नामा बस्नुपर्ने अवस्था आएको भण्डारीले बताउनुभयो । अरूको सहारामा बस्नुपर्ने बाध्यता रहेको अपाङ्गता भएका व्यक्तिले एक जना सहयोगी राज्यले उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । सामूहिक आवासको व्यवस्था गर्ने हो भने थोरै खर्चमा धेरैलाई सुविधा दिन सकिने भण्डारीको सुझाव छ ।

भण्डारीले भन्नुभयो, “व्यक्तिपिच्छे सुविधा दिँदा सरकार आर्थिक रूपमा कमजोर भएकाले कठिन छ । सामूहिक आवासको व्यवस्था गर्दा खर्च कम हुन्छ ।” सहयोगीलाई मासिक १५ हजार, खाना र आवास सुविधा दिनुपर्ने अवस्था रहेको तर आर्थिक रूपमा कमजोर हुँदा बाँच्नका लागि कठिन भएको उहाँले बताउनुभयो । भण्डारीले भन्नुभयो, “सुविधा दिनु पर्छ । हैन भने कानुनी रूपमा बिरामी मर्न चाहेमा मर्न पाउनुपर्ने कानुनी व्यवस्था दिनु पर्छ ।”