काठमाडौँ, चैत ४ गते । फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत माघ महिनामा एक अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ रुपियाँ सङ्कलन भएको थियो । माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९२१ वटा सङ्ख्यामा मात्रै भएको थियो । माघ महिनामा पाँच हजार ४८० वटा नामसारी भएकोमा फागुन महिनामा पाँच हजार ६९९ वटा नामसारी भएको विभागको तथ्याङ्कले देखाएको छ ।
माघ महिनामा २५ वटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा थोरै मात्रै अङ्कले सुधार भएर २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । विभागका अनुसार चालु आवको साउन महिनामा ३९ हजार २६३ लिखत पारित र तीन हजार १५९ नामसारी भएको छ । यस्तै भदौ महिनामा लिखत पारित ३५ हजार ६८६ र नामसारी दुई हजार ८४३ वटा भएकोमा असोज महिनामा ३९ हजार ८८१ लिखत पारित र तीन हजार २३७ वटा नामसारी भएको थियो ।
कात्तिक महिनामा २६ हजार र मङ्सिर महिनामा ४१ हजार ८५१ र पुस महिनामा ४५ हजार २७७ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । कोरोना महामारीपछि लामो समयसम्म मन्दीले सुस्ताएको घरजग्गाको कारोबार पछिल्लो समय सुधारोन्मुख हुँदै गएको कारोबार तथ्याङ्कले देखाएको छ ।