काठमाडौँ, चैत ३ गते । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताउनुभएको छ ।
आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आयोजत प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले खेलकुद प्रशिक्षकले खेलाडीसँग २२ लाख रुपियाँसम्म लिएर विदेश पठाएको प्रमाण आफूले पाएको बताउनुभयो ।
‘‘खेलकुदको नाममा विभिन्न प्रतियोगितामा खेलाडी पठाउने र उनीहरुसँग मोटो रकम लिएर प्रशिक्षकले मानव तस्करीको काम गरिरहेका रहेछन् । त्यसको सूचना संकलन गरिरहेको छु । अब मानव तस्करलाई छिट्टै कारबाहीको दयरामा ल्याइनेछ । खेलकुदमा अनुशासन कायम गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन आवश्यक छ । खेलकुदमा भएका बेथिति हटाउन र स्वच्छ राख्न सबैको सहयोगको आवश्यक छ,’’ मन्त्री श्रेष्ठले भन्नुभयो ।
उहाँले राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीको आवासका लागि पुल्चोकस्थित हालको मन्त्री क्वार्टर प्रयोगमा ल्याउन छलफल सुरु भएको बताउनुभयो । प्रतियोगिता अन्तर्गत पहिलो दिन पुरुषतर्फ विभागी टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–९, २५–१३, २५–१३ को जित निकालेको थियो । यस्तै आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २९–२७, २५–१९, २५–१७ को जित निकालेको थियो ।
अर्को खेलमा कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हरायो । कोशीले २३–२५, २५–२०, २५–१८, २५–१९ को जित निकालेको थियो । यस्तै महिलातर्फ एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एभरेष्टले २५–१२, २५–७, २५–११ को जित निकालेको थियो ।
आठ दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ । नेपाल भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।