अमरराज नहर्की
तनहुँ, चैत्र ३ गते । प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागूऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागूऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ । लागूऔषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागूऔषधको प्रयोग र कारोबार बढेको देखिएको छ । लागूऔषधको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको प्रहरीले जनाएको छ ।
चालु आवको माघसम्म यस्ता अभियोगमा ३८ वटा मुद्दा दर्ता भई ५५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । ती मध्येमा ५३ पुरुष र दुई महिला रहेका छन् । खड्काका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा ३७ वटा मुद्दा दर्ता भई ४८ पुरुष र पाँच महिला गरी कुल ५३ पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ५५ मुद्दा दर्ता भई ८० जना पुरुष र ६ महिला गरी ८६ जना पक्राउ परेका छन् ।
यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख कपिलराज बोहोराले जानकारी दिनुभयो । कक्षा ११, १२ र स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि दमौलीस्थित क्यिएफएक्स सिनेमा हलमा एक साता अघि फागुन २७ गते लागूऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी लघुचलचित्र ‘सङ्गत’ को निःशुल्क प्रदर्शनी गरिएका उहाँले बताउनुभयो । बोहोराले भन्नुभयो, ‘‘लागूऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएकोले निःशुल्क प्रदर्शन गरेका हौँ ।’’
लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । यसले शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत बनाउँछ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । यसको प्रयोगले मिर्गौला, फोक्सो खराब बनाउनेका साथै एचआइभी एड्स र प्राण घातक रोग क्यान्सरको जोखिम पनि बढाउने चिकित्कहरु बताउँछन् । कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागूऔषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।