रमेश विश्वकर्मा
गुल्मी, चैत ३ गते । प्राय: दसैँको आसपास वर्षमा एक-पटक बजारको अनुगमन हुने गर्छ त्यो पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा । अनि उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलाई पनि टोलीको सदस्य राख्ने प्रचलन छ । उनै सदस्यले भोली अनुगमन आउँदै छ खराब बस्तु लुकाउन खबर दिन्छन् र भोली टोली पसल पसलमा अनुगमन गर्न पुग्छन् । यो नाटक प्रायः वर्षौँ देखि हुँदै आएको छ । यसरी गरिएको बजार अनुगमन प्रभावकारी नभएको र नौटङ्की मात्र भएको भन्दै गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले कडाइका साथ विरोध जनाए । यो व्यवस्था सुधार गरेर अनुगमन कार्य प्रभावकारी बनाउन समेत माग गरे ।
“स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार” भन्ने मुख्य नारासहित विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालयद्वारा आयोजित कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
त्यस अवसरमा नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले जिल्लाका विभिन्न सरकारी निकाय र स्थानीय तहबाट गरिने अनुगमन कर्मकाण्डी मात्रै भएको बताउनुभयो । सङ्घीयता कार्यान्वयनपछि कुन सरकारले अनुगमन गर्ने भन्ने समेत यकिन नभएको भन्दै अनुगमन कार्य प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । उपभोक्ताले वस्तु र सेवाको उपयोग गर्दा विभिन्न अधिकार भए पनि कार्यान्वयनमा समस्या देखिएको भन्दै संयोजक पाण्डेले चाडपर्वमा मात्रै बजार अनुगमन गरी कर्मकाण्डी कार्य मात्रै हुने गरेको बताउनुभयो । प्रभावकारी अनुगमनका लागि विज्ञ संयन्त्रको पनि अभाव देखिएको भन्दै उहाँले तीनै तहका सरकारले अनुगमनलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
सुशासन अभियन्ता रामप्रसाद खनालले पनि सङ्घीयतापछि अधिकार बाँडफाँड नहुँदा अनुगमनमा समस्या देखिएको बताउनुभयो । आम उपभोक्ताहरू पनि आफै चनाखो भएर आफूले उपभोग गर्ने वस्तु र सेवाका विषयमा सचेत हुन जरुरी रहेको भन्दै प्रभावकारी अनुगमनका अभावका कारण उपभोक्ताले गुणस्तरीय सेवा र वस्तुको उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले वस्तु तथा सेवाहरूको उपभोग गर्दा आम उपभोक्ताहरू पनि सहज र सचेत बन्नुपर्ने बताउनुभयो । संविधानले उपभोक्ताका लागि थुप्रै हक अधिकारको व्यवस्था गरे पनि कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाएर जाने भन्दै उहाँहरूले कसैले गुणस्तरहीन सामग्री उत्पादन विक्री वितरण गरेमा तत्काल प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।