• १० मंसिर २०८१, सोमबार

साथीलाई (कविता)

blog

हरेक सुनौला बिहानी 

मुस्काउन् मुस्कुराइरहून्

हरेक कर्मशील दिवस  

जुरमुराउन् जुरमुराइरहून् !

चढोस् उत्साह

शिखर चढिरहोस्

फहराउन् तोरणहरू

उमङ्ग फहराइरहून्

तथापि, 

हुँइकिरहेछ हरपल

भयाक्रान्त आलाप

सङ्घारमा टक्क उभिएर घरघरै 

टुलुटुलु हेरिरहेछ दूर्दशा ।

ए, सम्बुद्ध साथी !

आऊ, भित्रै आऊ !

ईष्र्याका पाउपोश बाहिरै खेलेर आऊ

अल्झेको छ कि कतै अभिमान

लुगा टक्टक्याएर आऊ !

थियो होला कुनै वैरभाव

बिर्सेर आऊ ।

अब, कुरा मात्र होइन

हामीलाई कार्यरूप देऊ

दिगो विश्वास देऊ

सुदृढ सङ्कल्प देऊ ।

मुस्काउँदै आउन सकोस् शान्ति

अभिवादन गर्ने कोमल मनहरू देऊ ।

हामी 

बाआमाका सपना साकार खोजिरहेछौँ 

सन्ततिका भविष्य समुज्ज्वल हेरिरहेछौँ

प्रत्येक मन प्रफुल्ल

मस्तिष्क उत्फुल्ल सोचिरहेछौँ ।