• १० मंसिर २०८१, सोमबार

घोडेपानीमा मिलान कुन्देरा

blog

यसपालि हिउँदमा काठमाडौँमा तुसारो खासै परेन । दुई हजार ९२५ मिटर उचाइ रहेको फूलबारीको भूगोलमा भने बिहान उठ्दा कात्तिक नसकिँदै ऐना जस्तै एकनास तुसारो फैलिएको थियो । बोझ थाम्न नसकेर रुख, पात नुहिएका थिए । अन्नपूर्ण हिमालका शृङ्खलाहरू, बराह, निलगिरि, धम्पुस, टुकुचे, धौलागिरि, गुर्जा हिमाल हातैले छुन सकिएला झैँ प्रस्ट देखिन्थे । शौचालय जानु र हातमुख धुनु कठोर सजाय भइरहेको थियो ।

चिसो जतिसुकै होस्, तस्बिर लिने काममा बाधा भएन । भवानी शिलाकारले तस्बिर लिनु त स्वाभाविकै थियो । उनको कामै त्यही थियो । खोकिलाबाट हात निकाल्नै मन नहुँदा पनि हिमाली शृङ्खलालाई पृष्ठभूमिमा पारेर सबैले तस्बिर लिए । अझ हिमालमा घामको किरण परेको दृश्य कम सुन्दर थिएन । होटल मालिक यम पुन बिहानै बेनीतिर हिँडेका थिए । तातोपानीले पोलेर राति अबेरसम्म रुवावासी गरिरहेको नाति निदाएको मौका छोपेर उनकी पत्नी फूलबारी सङ्ग्रहालयको ताल्चा खोलेर हामीलाई देखाउन तयार भइन् । उनी शान्त र सौम्य प्रकृतिकी रहिछन् । घरको तनावमय स्थितिमा पनि उनले विनम्रता र धैर्य त्यागेकी थिइनन् । यो फूलबारीको स्थानीयता र प्रकृतिको राम्रो परिचय दिने तस्बिरहरूको सङ्ग्रहालय रहेछ ।

फर्केर होटलमा कालो चिया खाएपछि सबै जना झोलीतुम्बा बोकेर हिँड्न तम्तयार भए । यहाँबाट डेढ घण्टामा पुनहिल पुग्ने, त्यहाँबाट आधा घण्टा ओरालो झरेर घोडेपानीमा बिहानको खाजा खाने र त्यहाँबाट तीन घण्टा ओर्ली उल्लेरीमा पुगेर खाना खाने योजना थियो । म्याग्दीको पुनहिल, फूलबारी, करबाकेली थान हुँदै बेनी पुग्ने रुटलाई करबाकेली इको ट्रेक भनिँदो रहेछ । हामी भने बेनीबाट पर्वतको मलास फाँट, म्याग्दीको महभिर, करबाकेली, राम्चे, आलडाँडा हुँदै तेस्रो दिन यहाँबाट हिँडिरहेका थियौँ ।

हामी उकालो लाग्यौँ । आफ्नै कपडा, फलफूल र प्रगति राईको थर्मस तथा जुत्ताचप्पलले झोला गह्रौँ हुँदा पनि मेरो गति कम थिएन । बिस्तारै हिँड्दा पनि म धेरै अगाडि पुगिसकेको  हुन्थेँ । समगतिका कारण यसपालि पनि कुमारी लामा र राजकुमार गजुरेल मसँगै भए । हेमन्तलगायत अरू सबै निरन्तर पछाडि परिरहेका थिए । जति उचाइमा पुग्यो, उति अक्सिजन कम हुने र उकालो चढ्न गाह्रो पर्ने भए पनि हामीलाई त्यसको असर परेन । आफ्ना स्थानमा पाइने वनस्पति यता देखिए त्यसबारे बताउँदै हामी घुमाउरो उकालो बाटो हिँडिरहेका थियौँ । राजकुमारको ध्याउन्ना तस्बिर खिचाउनु र खिच्नुमै हुन्थ्यो । 

कुमारी र म दुवै साहित्य र सिनेमाका पारखी । विशेष ध्यानयोग्य कुरा नहुँदा तिनैबारे चर्चा गर्न थालिहाल्थ्यौँ । म कहिले फरक प्रकृतिका दुई निर्देशक अब्बास किरोस्तामी र भित्तोरियो डेसिकाका सिनेमाबारे कुरा गर्थें त कहिले गोर्की, मिलान कुन्देरा र विलियम गोल्डिङका उत्तिकै फरक प्रकृतिका उपन्यासबारे । कुमारीलाई पनि फरक प्रकृतिका यी स्रष्टाका फरक कृति प्रिय लाग्दा रहेछन् । उनले मलाई पढ्न भनी उत्तरआधुनिक केही उपन्यास सुझाइन् । कालु कुमाले र भक्त स्याङ्तानका किताबका प्रसङ्ग फेरि आए ।  “आदिवासी जनजीवन र ज्ञानबारे नजिकबाट स्पर्श गर्न तपाईंले यी कृति पढ्नै पर्छ,” कुमारीले जोड दिइन् । स्याङ्तानको कथा ‘बुट्टे गलबन्दी’ मा सिन्धुलीको मरिन नदी किनारका तामाङहरू बेला बेला स्थानीय वनस्पतिलाई विषका रूपमा खोलामा हाल्छन् र त्यसको असरले मरेका माछा गाउँले मिलेर छोप्छन् । कुमारीले त्यस कथाको विशेष चर्चा गरिन् । त्यो जैविक विषयबारे सुन्दै म पढ्न आतुर थिएँ । काठमाडौँ फर्केपछि ती दुवै किताब पढ्ने अठोट गरेँ । राजकुमार हामीलाई हस्तक्षेप गर्न आइरहन्थे । कहिले अर्कै प्रसङ्गको कुरा निकालेर, कहिले तस्बिर खिच्न मोबाइल थमाएर । हुन पनि छिनछिनमा यस्ता ठाउँ आइपुग्थेँ, जहाँको दृश्य देखेर तस्बिर नखिचाई हाम्रो पनि मन शान्त हुँदैनथ्यो ।

एउटा काँसघारी आइपुग्यो । नजिकै उचाइमा समस्थली जस्तो देखिन्थ्यो । दक्षिण, पूर्व र उत्तर तीनैतिर चम्किला हिमालका शृङ्खलाहरू देखिन्थे । सेतो रुवा जस्तो काँसको फूल बिचमा पारेर तस्बिर खिच्ने लोभ संवरण गर्नै मुस्किल थियो । यस्तोमा राजकुमार सव्रिmय हुनु स्वाभाविक थियो । म तस्बिर खिचेरै हैरान भएँ । त्यहाँबाट राजकुमारलाई हिँडाउनै हम्मे प-यो । 

दस मिनेट जति हिँडेपछि त पुनहिल आइहाल्यो । यो तीन हजार २१० मिटर उचाइमा रहेछ । यहाँबाट सूर्याेदय, सूर्यास्त र तीनैतिर फैलिएका माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरि हिमाली शृङ्खला अनुपम देखिने रहेछन् । मेजर टेकबहादुर पुनको स्मृतिमा यही उचाइमा पनि एउटा भ्यु टावर बनेको रहेछ । घोडेपानीबाट बिहानै उठेर यहाँको मनोरम दृश्य हेर्न आउने पर्यटकको भिड थियो । त्यसमा हामी पनि थपियौँ । तस्बिर मात्र होइन, यहाँ त भिडियो नै खिच्ने लहर चल्यो । हामी क्यामेरासँग उति रमाउन नसक्ने मान्छे पनि झन्डै एक घण्टा भुलियौँ । एउटी फ्रेन्च अधबैँसे महिला एक्लै आएकी रहिछन् । तिनी बारम्बार हामीसँग मिसिइन् । हिमाललाई पृष्ठभूमिमा राखेर तिनले हाम्रो भिडियो सुट गरिन् र फेरि हामीसँगै मिसिइन् । चञ्चले राजकुमार तत्कालै उनीसँग फेसबुक साथी बन्न भ्याइहाले ।

साथीहरू आइपुगेका थिए । टिकटक सुटिङको अनन्त शृङ्खला सुरु गरेका तिनले यो ठाउँ हत्तपत्ती छाड्नेवाला थिएनन् । हामी तिनलाई छाडेर घोडेपानी ओर्लने तरखरमा लाग्यौँ । दक्षिणतिर तल निला जस्ताका पाताको सघन बस्तीको सुन्दर दृश्य यहीँबाट देखिन्थ्यो । घोडेपानी त्यही थियो । चामबहादुर पुनले हामीलाई होटलको नाम दिए; जहाँ हामीले बिहानको खाजा खाने कार्यव्रmम थियो । अब दायाँबायाँ वनैवन, सफा ढुङ्गाको सिँढीबाट निरन्तर ओर्लनुपर्ने थियो । दस मिनेट हिँडेपछि सिँढीको दायाँपट्टि एउटा विश्राम स्थल आइपुग्यो । त्यहाँबाट पश्चिमतिर घना जङ्गलको लामो शृङ्खला हेर्न सकिन्थ्यो । तल घोडेपानी स्वागतद्वारमा पुगेर हामी निर्देशन अनुसार पूर्वका बाटो लाग्यौँ । त्यसपछि फेरि निरन्तर दक्षिणतिरको ओरालो । 

सोध्दैखोज्दै हामी मूलबाटो छेउमै रहेको होटल पुग्यौँ । हातमुख धोएर, दाँत माझेर हामी तयार भयौँ । होटलका कामदारले हामीलाई चिया, झोलिलो आलु–केराउको तरकारी र तेलमा फ्राई गरेको मैदाको भुक्के रोटी खाजा दिए । होटलमा एक महिला बच्चा राखेको कोक्रो नाम्लोमा बोकेर काम गरिरहेकी थिइन् । नाम्लो लाएरै कहिले तिनी रुमालले चम्चा र भाँडाकुँडा पुछ्थिन्, कहिले खानेकुरा ल्याउँथिन्, कहिले टेबुल पुछ्थिन्, कहिले भाँडा सफा पार्न व्यस्त हुन्थिन् । मैले तिनको तस्बिर लिन अनुमति लिएँ । उनले सहर्ष स्वीकार गरिन् । यो एउटी महिलाले एकसाथ कति श्रम गर्न सक्छिन् र कुन कुन भूमिका निर्वाह गर्न सक्छिन् भन्ने अनुपम उदाहरण थियो ।

“तपाईंकै बच्चा हो ?” मैले सोधेँ ।

“बहिनीको हो,” उनले भनिन् ।

“घर कता हो तपाईंको ?”

“काफलडाँडा । अन्नपूर्ण गाउँपालिका । करबाकेली थाननजिकै हो ।”

यो होटल चामबहादुर पुनकी सालीको रहेछ । कामदार महिला त्यही गाउँकी रहिछन् । तिनले बोकेको बच्चा तिनै साहुनीको रहेछ । एकैछिनमा प्रगति आइपुगिन् । हिजो बेलुकी खाना नखाएकी र शारीरिक कारणले पनि फूलबारीबाट उकालो चढ्दा उनी एकछिन त बेहोस नै भएकी रहिछन् । क्रमशः प्रभा, अनुपम, दिनेशनारायण, सागर उदास र अरू साथी पनि आइपुगे । हामी हिँड्नै लाग्दा भवानी, गुरिल्लाहरू पनि आइपुगे । तल पुगिसकेका हामी सामूहिक तस्बिरका लागि फर्केर आयौँ । घोडेपानी नाघेपछि कास्की सुरु हुने रहेछ । यहाँबाट निरन्तर ढुङ्गे सिँढीबाट ओरालो लाग्नुपर्ने थियो । 

फेरि पनि हामी तीन जनाको समूह त छुट्टिएर अगाडि पुगिसकेको थियो । कवि र कतिाका प्रसङ्ग त बारम्बार आइरहन्थे । मलाई झट्ट चेक उपन्यासकार मिलान कुन्देराको ‘लाइफ इज एल्सह्वेर’ को एउटा प्रसङ्ग याद आयो । कुमारीले पनि यो उपन्यास पढ्न पाएकी थिइनन् । उपन्यासको एउटा अध्यायमा नवयुवा कवि जेरोमिल कुनै साहित्यिक पत्रिकाका लागि कविता पठाउँछ । कविता स्वीकृत भएकाले सम्पादकले उसलाई बोलाएको हुन्छ । संयोगले उसलाई बोलाउने सम्पादक बाहिर गएको हुन्छ । ऊ अर्को सम्पादकलाई सोध्छ, “मेरा कविता कहिले छापिएलान् ?”

सम्पादकको पारो तात्छ । “प्रत्येक दिन हामीलाई एक दर्जन बिलकुल नयाँ कविका कविता प्राप्त हुन्छन् । भन्नोस्, एक वर्षमा ती कति पुग्लान् ?” सम्पादक आफैँ हिसाब निकालेर जवाफ दिन्छ, “वर्षभरिमा चार हजार ३८० नयाँ कवि जन्मन्छन् । तिमी विदेश जान चाहन्छौ भाइ ? चाहन्छौ भने लेख्न नछाड । म विश्वस्त छु, ढिलोचाँडो हामी कविलाई विदेश निर्यात गर्न सक्षम हुने छौँ । अरू देश प्राविधिक, गहुँ, कोइला निर्यात गर्छन् तर हाम्रा मूल स्रोत गीतिकवि हुन् । चेक गीतिकविले विकासशील देशमा गीतिकविता स्थापित गर्ने छन् । सट्टामा हामीचाहिँ नरिबल र केरा प्राप्त गर्ने छौँ ।” एकछिन हाँसो चल्यो । संसारमै सबैभन्दा ठट्टालु र सबैभन्दा उदास कहानीकारको परिचय छ कुन्देराको । अहिले आफँै अरूका रचना छाप्ने हैसियतमा पुगे पनि प्रारम्भकालमा मैले धेरैपल्ट जेरोमिलको नियति भोगेको थिएँ । कहिले छापिएला भनेर सोध्दा एक दैनिकका पृष्ठ सम्पादकले मेरै अगाडि मेरो लेख डस्टबिनमा फालिदिएको म अझै झलझली सम्झन्छु । 

“तपाईं कति मसिना कुरा पनि सम्झनु हुँदो रहेछ,” कुमारीले भनिन् । खासमा मनभित्र गढेको प्रसङ्ग म कहिल्यै बिर्सन्नँ । नछोएको कुरा खासै सम्झन्नँ । अरूका मामलामा पनि सायद यही हुन्छ । उल्लेरीबाट हिँडेर असिनपसिन भएका अनेकौँ समूह घोडेपानीतिर गइरहेका थिए । बेलायती महारानीको जस्तो गोलो ह्याट लगाएकी कुमारी झट्ट हेर्दा जापानी जस्तै देखिन्थिन् । माथि झुम्का पसलमा साहुनीले नेपाली पाराको अङ्ग्रेजीमा उनलाई सोधेकी थिइन्, “यु अप ?” अर्थात् माथि जाने हो ? उनको सङ्केत पुनहिल थियो । एउटा विद्यार्थी समूहलाई कुमारीले विदेशीकै लवजमा “नमस्ते” भनिन् । “ह्वेर आर यु फ्रम ? ह्वाट्स योर नेम ?” तिनले पनि उनीसँग अङ्ग्रेजी बोल्न थालिहाले ।

“मेरो नाम मासुका हो,” उनले विदेशीकै लवजमा बोलिन् ।

“मासुका लामा, नेपालीसँग बिहे गरेको । उहाँ नेपालमै पढाउनु हुन्छ,” मैले अर्को ठट्टा गरेँ ।

साना विद्यार्थीले पत्याए र विदेशीसँग बोल्ने लवजमै तिनले बोले । “उहाँ नेपाली नै हो, हामीले ठट्टा मात्र गरेको” भन्न खोज्दै थिएँ । विद्यार्थी बाई भन्दै माथि पुगिसकेका थिए । हुन त यो ठट्टाले कसैलाई हानि गर्नेवाला थिएन तर सत्य नखोलेकोमा हलुका पछुतो भयो । अधिकांश ढुङ्गा बिछ्याइएको ओरालो बाटो, केही घुमाउरो, कतै उकालो, कतै भिरालो बाटो हामी निरन्तर हिँडिरह्यौँ । कहिले समूहमा, कहिले हामी तीन जना मात्र, कतै पुष्टकारी, कतै सुन्तला र मौसम खाँदै । तल निला जस्ताका छानाहरू भएको सुन्दर बस्ती देखियो । उल्लेरी त्यही थियो । अब सानो बाटो टुङ्गेर मूलबाटो आइपुग्यो ।  हामीभन्दा निकै पछाडि परेका भवानी, गुरिल्लाहरू यहाँ आएर पसलमा पानी खाइरहेका थिए । तिनले पूरै दौडेर आएको बताए । पछि रहस्य खुल्यो, ती त जिप चढेर आएका रहेछन् । दस मिनेट जति फेरि गोरेटो हिँडेपछि खाना खाने होटल आइपुग्यो । तल उल्लेरीसम्म पुग्नै परेन । होटल प्राङ्गण अत्यन्त रमणीय थियो । मनमा कतै फूल फक्रिरहे झैँ प्रफुल्ल थियो तर यो यात्राभरिमा यहाँको खाना सबैभन्दा खराब थियो ।

एकै छिनमा माथि मूलबाटोमा दुइटा बोलेरो आइपुगे । पाँच बजे त्यहाँबाट हिँडियो । वीरेठाँटी हुँदै बास बस्न अब हामीलाई पोखरा पुग्नु थियो ।