• २६ वैशाख २०८२, शुक्रबार

सडक निर्माणमा नागरिक निगरानी

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत ३ गते । लामो समयदेखि निर्माणाधीन रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक आयोजनाको काममा स्थानीय नागरिक सङ्घसंस्थाहरूले निगरानी बढाएका छन् । निर्माण सुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको यो सडक आयोजनाको स्थानीय नागरिक सङ्घसंस्थाहरूले स्थलगत अनुगमन गरेका छन् । 

आयोजनाको गैरसरकारी संस्था महासङ्घ, रामेछाप उद्योग वाणिज्य सङ्घ, सिर्जनशील युवा समाज, पेसागत महासङ्घ रामेछापलगायतका १० वटा सङ्घसंस्थाले स्थलगत अनुगमन गरी शुव्रmबार मन्थली नगरपालिका–८, चिसापानीमा आयोजित कार्यव्रmममा पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख वीरेन्द्रकुमार वज्राचार्यलाई प्रतिवेदन बुझाएका छन् ।

सडक आयोजना समयमा निर्माण सम्पन्न नभएको र निर्माण भएको संरचनाको गुणस्तरमा धेरै ठाउँमा स्थानीयले आशङ्काको प्रश्न उठाएको गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष भुवन श्रेष्ठले बताउनुभयो । 

सडक निर्माणका व्रmममा सडक नजिकका प्राचीन संरचनाहरू गोरेटो मूल बाटो, देवी स्थान, कुवा तथा पँधेरा, पाटी, देउराली र आहाल भत्काइएको र त्यसको पुनर्निर्माण, मर्मत कार्यमा खासै ध्यान नदिएको मन्थली नगरपालिका–८ का पूर्ववडाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । 

सडक निर्माणका व्रmममा सहायक सडक, गोरेटो बाटो, नाला व्यवस्थापन, कुवा तथा पँधेरा, पाटी, देउराली र आहाल जस्ता संरचनासँग जोडिएका ३० वटाभन्दा बढी समस्या पहिचान गरी समाधानका लागि ध्यानाकर्षण गराइएको वडास्तरीय आमा समूह सञ्जाल चिसापानीकी अध्यक्ष शान्ता श्रेष्ठले बताउनुभयो ।   

स्थानीय सङ्घसंस्थाको अनुगमन प्रतिवेदन बुझेपछि पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख वज्राचार्यले सङ्घसंस्थाहरूको स्थलगत अनुगमनले औँल्याएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिवेदनमा उल्लेख गरिएको विषय आउन अलि ढिलाचाहिँ भएकै हो । अब कसरी हुन्छ यो समस्याको समाधान सडक आयोजना सम्पन्न गर्नतिर लाग्नु पर्छ ।” उहाँले लामो समय काम रोकिएर अलपत्र बनेको यो सडक आयोजनाको कामलाई आफू आएपछि गति दिएको बताउनुभयो ।  

यो सडक २०७८ पुस २५ गते कालोपत्रे सम्पन्न गर्ने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँको लागतमा निर्माण गर्ने गरी रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो तर हालसम्म पनि कालोपत्रे हुन सकेको छैन । मन्थली नगरपालिका–८ को जखनीटारदेखि वडा नं. ९ को पुरानागाउँ जोडिने ७.३६ किलोमिटरमा सडक कालोपत्रे गर्नुपर्ने सो ठेक्काको १५ करोड ३२ लाख ७६ हजार ६८७ रुपियाँ भुक्तानी भइसक्दा हालसम्म लगभग दुई किलोमिटर सडक कालोपत्रे भएको जनाइएको छ । बाँकी सडकमा निर्माण कम्पनीले ‘बेस’ राखेर पेल्ने काम भएको छ । सडक निर्माण अलपत्र पारेको भन्दै चिसापानीवासी आन्दोलनमा उत्रिएपछि निर्माण कम्पनीले गत माघ अन्तिमबाट काम सुरु गरेको हो ।