• १६ वैशाख २०८१, आइतबार

विद्यार्थीहरूका हातमा पुगेन पुस्तक

blog

सिमकोट गाउँपालिका– ७ को कैलाश माविमा साना कक्षाका विद्यार्थीहरूका लागि आई पुगेको पुस्तक बितरण गरिँदै । तस्बिर : राजन रावत

हुम्ला, चैत २ गते । नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्याेलले हालसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव स्राेत विकास केन्द्र सानो ठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको भए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहहरूले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको हो । 

ताँजाकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले हालसम्म कक्षा पाँचदेखि दशसम्मका पाठ्य पुस्तक विद्यार्थीहरुको हातमा नपुगेको बताउनुभयो । ताँजाकोट गाउँपालिकाका विद्यालयहरूमा फागुन ९ गतेबाट पढाई सुरु भएको थियो । उहाँले पुस्तक ढुवानीको जिम्मा पाएको सप्लायर्सले जनक शिक्षा सामाग्री केन्द्रले औपचारिक रूपमा कक्षा पाँचदेखि दशसम्मका पुस्तक बिक्री सुरु नगरेको कारण पुस्तक आई नपुगेको जानकारी आफूलाई ढुवानीको जिल्लामा लिएको सप्लायर्सले बताउने गरेको बताउनुभयो ।

ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकामा पाठ्य पुस्तकको ढुवानीको जिम्मा लिएको एलबी सप्लायर्सका प्रतिनिधि लोकेन्द्र भण्डारीले जनक शिक्षाले पाठ्यपुस्तक बिक्री नै सुरु नगरेको कारण जिल्लामा ढुवानी नगरिएको बताउनुभयो । उहाँले नीति क्षेत्रले कक्षा एकदेखि चारसम्मका पाठ्य पुस्तक बिक्री सुरु गरेको कारण विद्यालयमा पुर्‍याएर विद्यार्थीहरुलाई वितरण गरी सकिएको भए पनि माथिल्लो कक्षाका पुस्तक नै आफूले नबुझेको बताउनुभयो । उहाँले आफू जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जको सम्पर्कमा गएको तर पुस्तक बिक्री सुरु नभएको जानकारी पाएपछि फिर्ता भएको बताउनुभयो ।

यता सिमकोट र नाम्खा गाउँपालिकाका विद्यालयहरूमा पाठ्य पुस्तक ढुवानीको जिल्ला लिएको रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले भने कक्षा एक दुई र पाँचको पुस्तक नछापिएको कारण ल्याउन नसकिएको भए पनि अन्य कक्षाको पुस्तक भने विद्यालयमा पठाई सकिएको बताउनुभयो । सिमकोट र नाम्खाका गाउँपालिकाका विद्यालयमा पुराना पुस्तक वितरण गरिएको हो । यता खार्पुनाथ गाउँपालिकाले पनि कक्षा पाँचदेखि दशसम्मका पाठ्य पुस्तक विद्यालयमा आई नपुगेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ललितजङ्ग शाहीले बताउनुभयो । सो गाउँपालिकामा फागुन १६ गतेबाट पठनपाठन सुरु भएको भए पनि पुस्तक बिनै विद्यार्थीहरुको कक्षामा उपस्थिति हुने गरेको छ । सर्केगार्ड गाउँपालिकाले भने गत वर्ष बचेको पुस्तक बिक्री गरेर विद्यार्थीहरुको हातमा पुस्तक पुगेको जनाएको छ । सो गाउँपालिकामा पनि कक्षा, एक दुई र पाँचका पुस्तकहरू पुगेका छैनन् ।

शिक्षा विकास तथा समन्वय एकाइका भीमराज कार्कीले स्थानीय तहकै कारण विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको बताउनुभयो । उहाँले एकाइबाट केन्द्रका देशभर शैक्षिक सत्र एउटै समय वैशाख १ गतेबाट सुरु गर्नुपर्ने निर्देशन आफूले सात वटै गाउँपालिकामा पठाएको भए पनि त्यसलाई कुनै पनि गाउँपालिकाका कार्यान्वयन नगरेको कारण यो समस्या आएको बताउनुभयो । केन्द्रको शैक्षिक सत्र सुरु गर्ने सन्दर्भमा एउटा सर्कुलर तर गाउँपालिकाहरूले आफ्नै खाने निर्णय गरेर पुस महिनामा वार्षिक परीक्षा र फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णयको कारण अहिले यो समस्या आएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले केन्द्रबाट औपचारिक पत्र नआएको कारण पाठ्यपुस्तक बिक्री सुरु नभएको बताउनुभयो । उहाँले विद्यालयहरूमा वार्षिक परीक्षा नै सुरु नभएको सन्दर्भमा पाठ्यपुस्तक बिक्री सुरु नगरिएको बताउनुभयो । उहाँले बल्ल पुस्तकहरू ढुवानी भएर आउने क्रम सुरु भएको र अझै कक्षा पाँचको पुस्तक आई पुग्न समय लाग्ने बताउनुभयो । चैत पहिलो हप्तासम्म जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरिने उहाँले बताउनुभयो । उहाँले आफूहरू पनि वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने र त्यो भन्दा अगाडि नै जिल्लामा पाठ्यपुस्तक पठाउने तयारीमा रहेको तर फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भएको जिल्लाको जानकारी नआएको बताउनुभयो ।

शैक्षिक सत्रकै अन्योलको कारण विद्यार्थीहरुले पुस्तक नपाएका जिल्लाका विद्यालयहरूको सङ्ख्या ५८ वटा छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।