• १३ साउन २०८१, आइतबार

राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा उपचारमा समस्या

blog

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । मुख्य गरी दुर्घटनामा परेर अङ्गभङ्ग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो । सरकारको आफ्नो पुनर्स्थापना केन्द्र नभएकोले बिरामीले निजी पुनस्थापना केन्द्रमा महँगोमा उपचार गराउन बाध्य बनिरहेका छन् ।

स्पाइन इन्जुरी, हेड इन्जुरीहरु, क्यान्सर, हड्डीको बिरामीहरुले अस्पतालको उपचारपछि पनि तोकिएको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालले यस्तो उपचार चिकित्सकको निगरानीमा वा सल्लाहमा पुनर्स्थापना केन्द्रमा राखेर उपचार गराउँदा बिरामी छिटो निको हुने बताउनु भयो ।

उहाँले हालसम्म नेपालमा सरकारी स्तरमा पुनर्स्थापना केन्द्र नरहेको जानकारी दिनुभयो । पुनर्स्थापना केन्द्र नहुँदा बिरामीहरु निजी स्वास्थ्य संस्थामा महँगो रकम तिरेर उपचार गराउन बाध्य रहेको बताउनुभयो । दुर्घटनामा परेर उपचारमा आएका बिरामीले सहज जीवनयापनमा फर्कन पुनस्र्थापना केन्द्रमा रहेर नै उपचार गराउनुपर्ने भएकोले सरकारले छिटोभन्दा छिटो पुनस्र्थापन केन्द्र निर्माण गर्नुपर्ने डा.रिजालले बताउनु भयो । 

दुर्घटना पछिको आकस्मिक उपचार पछिका बिरामीले पूर्ववत अवस्थामा फर्कन वा जीवनशैलीलाई सहज बनाउन विभिन्न प्रकारको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । यो लामो समय लाग्ने उपचारको प्रक्रिया हो । अहिलेसम्म सरकारको आफ्नो छुट्टै पुनस्र्थापना केन्द्र छैन ।

ललितपुरको गोदावरी नगरपालिकाले पुनर्स्थापना केन्द्र निर्माणमा चासो देखाएको छ । नगरपालिकाको वडा नं. १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्र भित्र पुनस्र्थापना केन्द्र निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

गोदावरी नगरपालिकाले नगरपालिकाले पुसमा एक निर्णय गर्दै वडा नं. १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्रभित्र बन्द भएको पुरानो ढुङ्गा खानी क्षेत्रको करिव सय रोपनी जग्गा पुनःस्थापना केन्द्र निर्माणका लागि उपलब्ध गराउने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालले निर्माणका लागि थप प्रक्रिया अघि बढाउनका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आग्रह पत्र पठाएको पनि बताउनु भयो । सरकारले प्राथमिकतामा राखेर छिटो निर्णय गर्नुपर्ने डा. रिजालले बताउनु भयो ।

नेपालमा दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सबैभन्दा धेरै सडक दुर्घटना छ । दुर्घटना पछिको मृत्यु हुने दर सबैभन्दा धेरै छ । धेरै सडक दुर्घटना हुने भएकोले अन्य दुर्घटनाको अभिलेख व्यवस्थित रहेको पाइँदैन । कृषि क्षेत्र, औद्योगिक क्षेत्र, निर्माण क्षेत्रमा हुने दुर्घटनाका तथ्याङ्कमा आधारित समाचारमा खासै आउँदैनन् । स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार ०७९÷०८० मा सवारी दुर्घटनामा परेका एक लाख एक हजार ९४७ घाइते अस्पताल पुगेका छन् । विभागको तथ्याङ्कअनुसार ९४ हजार ६ सय ६५ घाइते अस्पतालका ओपिडी र गम्भीर घाइते भएका सात हजार दुई सय ८२ इमर्जेन्सीमा पुगेका छन् । ०७९÷०८० मा दुई हजार आठ सय ८३ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क छ  ।