• १३ साउन २०८१, आइतबार

ट्रकमा लागेको आगोबाट कर्णाली पुलको तारमा आगो सल्कियो

blog

सोमबार कैलालीको चिसापानीस्थित कर्णाली पुलको तारमा लागेको आगोको मुस्लो । तस्बिर : चाँदनी आचार्य

एकिन्द्र तिमिल्सेना/चाँदनी आचार्य

घोडाघोडी (कैलाली), फागुन २८ गते । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा कर्णाली नदीको पुलमा आगो सल्किएको छ । 

साँझ करिब ५ बजे लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी भएपछि चालकले पुलको मुखमा ट्रक रोकेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो पुलको तारमा सल्केपछि आगो नियन्त्रणमा समस्या भएको छ । 


लम्कीचुहा नगरपालिकाको दमकलले आगो निभाउन सम्भव नभएपछि अहिले बर्दिया र घोडाघोडीबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले बताउनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । 


ट्रकका चालक र सवार व्यक्ति इलाका प्रहरी कार्यालय चिसापानीमा राखिएको त्यहाँका ड्युटी अफिसरले जानकारी दिनुभयो । आगो लागेको आधा घण्टासम्म पनि ट्रक जलिरहेको छ । नेपाली सेना, नेपाल प्रहरीले आगो निभाउने कोसिस गरिरहेका छन् । पुलमा ट्रक जलिरहेकाले पूर्व–पश्चिम राजमार्गको यातायात अवरुद्ध भएको छ ।