• १५ वैशाख २०८१, शनिबार

गोलबजारमा होटल सञ्चालकको हत्या, चार जना पक्राउ

blog

गोलबजार, फागुन २६ गते । सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी साहको गर्दन कटाएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गएराति मृतक र निजका पति महेन्द्र साह माथि कुटपिट भएको खबर प्राप्त भएपछि सहयोगका लागि घटनास्थलमा पुगेको प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीर घाउचोटसहित बेहोस फेला पारेको थियो । 

निजलाई तत्काल उपचारका लागि गोलबजार पुर्‍याइएको थियो । घटनामा संलग्न भएको आशङ्कामा अनिताका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सन्तोष अचार्यले बताउनुभयो । घटना भएको घर नजिकको गोठबाट एक थान खुकुरी बरामद भएको छ । रासस