• १३ साउन २०८१, आइतबार

कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन २६ गते । बाजुरामा उत्पादित नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तडछेडेदह, बडीमालिका र त्रिवेणीलगायत विभिन्न स्थानीय तहमा अहिले नेपाली हातेकागज उत्पादन हुन्छ । 

त्रिवेणी नगरपालिका–७ का धना थापाका अनुसार सेतो बडुको बोटको लोक्ताबाट उत्पादित नेपाली कागजले पाउनुपर्ने मूल्य नपाउँदा यहाँका उद्यमी मर्कामा परेका हुन् । बाजुराका विभिन्न ठाउँबाट शुद्ध बडुको लोक्ताबाट उत्पादन हुने नेपाली हातेकागजले भने जस्तो मूल्य पाएको छैन । उहाँले भन्नुभयो, “हाम्रो यताको कागज सेतो बडुबाट उत्पादन गर्ने भएकाले त्यो बलियो टिकाउ हुन्छ । उता सहर बजारमा उत्पादन हुने नेपाली कागज प्रायः बाबियो र केराबाट उत्पादन गर्दछन् ।”

उहाँले त्यो कागज सस्तो मूल्यमा बिक्री हुने भएपछि स्थानीय नेपाली हातेकागजले मूल्य नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मसँग दुई सय फ्रेम छन् । एक पटक दुई सय पिस (ताउ) निकाल्छु । दिनमा तीन पटक गरेर एक दिनमा झन्डै छ सय ताउ उत्पादन हुन्छ ।” उहाँले उत्पादन गर्ने कागज सय ग्रामको ३२ देखि ३३ सय र ४० ग्रामको छ हजार पाँच सय रुपियाँसम्म पर्छ । उता सहरमा उत्पादन गरेको नेपाली हातेकागज ४० ग्रामको चार हजार पाँच सय रुपियाँमा बिक्री हुने गरेको बताइन्छ । अहिले बाजुरामा झन्डै छभन्दा बढी नेपाली हातेकागज उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगले यहाँका हजारौँ बेरोजगार युवालाई गाउँमै रोजगार दिने गरे पनि पछिल्लो समय ती उद्योग सञ्चालन गर्न उद्यमीलाई निकै सहज भएको छ ।

एक व्यक्तिको आयस्रोतबाट धान्न कठिन भएका यी उद्योग स्थानीय प्रदेश तथा सङ्घीय सरकारसँग आर्थिक सहयोगको अपेक्षामा छन् । उद्योग सञ्चालनका लागि आर्थिक सहयोग मिलेमा उद्योगबाट नै गाउँका बेरोजगार युवालाई घरमै काम दिन सकिने उद्योग सञ्चालक बताउँछन् । २०६१ असोज ६ गते त्रिवेणी नगरपालिका–७ को खिरपाटामा सञ्चालित प्रतिभा नेपाली हातेकागज उद्योगबाट तोली, कैलाशमाण्डौ र छतारालगायतका झन्डै पाँच सय जनाले रोजगारी पाएका छन् । नेपाली कागजले मूल्य नपाउँदा अहिले उद्यमीलाई उद्योग सञ्चालन गर्न निकै समस्या छ । त्रिवेणी नगरपालिकामा अहिले तीन वटा नेपाली हातेकागज उद्योग सञ्चालमा आएका छन् । ती उद्योग व्यवस्थापनका लागि गत वर्ष पाँच लाख रुपियाँ छुट्याएको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले बताउनुभयो ।