• १६ भदौ २०८१, आइतबार

सत्र सयभन्दा बढीलाई जग्गाको निस्सा

blog

भूमि आयोग दैलेखले निस्सा वितरणवारे जानकारी गराउँदै । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता 

दैलेख, फागुन २५ गते । दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये आठ स्थानीय तहका १७ सयभन्दा बढी भूमिहीन दलित, सुकुमवासी र अव्यव्स्थित बसोबासीलाई जग्गाको निस्सा वितरण गरिएको छ । 

राष्ट्रिय भूमि आयोग दैलेखले पत्रकार सम्मेलन गरी फागुन २० गतेसम्म एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिएको हो । राष्ट्रिय भूमि आयोग दैलेखका विज्ञ सदस्य बखतबहादुर कटुवालले जिल्लाको आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका बाहेक आठ स्थानीय तहका एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको जानकारी दिनुभयो । 

उहाँले डुँगेश्वर गाउँपालिका–१, बेलपाटाबाहेक अन्य छ वडाको निवेदन सङ्कलनको काम भइरहेको र त्यसको वितरण पछि गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार नारायण नगरपालिकामा भूमिहीन दलित ५७, भूमिहीन सुकुमवासी १५ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या २४० गरी ३१२ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । दुल्लु  नगरपालिकामा भूमिहीन दलित ५९, भूमिहीन सुकुमवासी सात जना र अव्यवस्थित बसोबासीको सङ्ख्या ३२१ गरी ३९५ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । 

ठाटीकाँध गाउँपालिकाका भूमिहीन दलित ११, भूमिहीन सुकुमवासी छ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या २९० गरी ३०२ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । भैरवी गाउँपालिकाका भूमिहीन दलित दुई जना, भूमिहीन सुकुमवासी छ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या १२८ गरी १३६ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । नौमुले गाउँपालिकाका भूमिहीन दलित तीन, भूमिहीन सुकुमवासी १९ जना र अव्यवस्थित बसोबासी ५३ जना गरी कुल ७५ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । 

भगवतीमाई गाउँपालिकाका भूमिहीन दलित १२, भूमिहीन सुकुमवासी चार जना र अव्यवस्थित बसोबासी १२२ गरी १३८ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । डुँगेश्वर गाउँपालिका–१, बेलपाटामा रहेका भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी एक जना र अव्यवस्थित बसोबासी नौ गरी १४ जनालाई निस्सा वितरण गरिएको र अन्य वडामा निवेदन सङ्कलन कार्य भइरहेको आयोगले जनाएको छ । 

महावु गाउँपालिकाका भूमिहीन दलित चार र अव्यवस्थित बसोबासीको सङ्ख्या ३० जनालाई जग्गाको निस्सा वितरण गर्न बाँकी रहेको जनाइएको छ । जिल्लाको आठबिस नगरपालिकामा भूमिहीन दलित नौ, भूमिहीन सुकुमवासी पाँच जना र अव्यवस्थित बसोबासीको सङ्ख्या एक सय गरी ११४ जनाको निवेदन परेको र निस्सा वितरण गर्न बाँकी रहेको जनाइएको छ । गुराँस गाउँपालिकाका भूमिहीन दलित १०, भूमिहीन सुकुमवासी चार जना र अव्यवस्थित बसोबासी २३६ सङ्ख्या २५० जनाले आवेदन दिएको र जग्गाको निस्साको विवरण वितरण गर्न बाँकी  छ ।