• १६ भदौ २०८१, आइतबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी

blog

नेकपा (एमाले) प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई ।

बुलबुले समाचारदाता

सुर्खेत, फागुन २५ गते । सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाबी गरेको छ । नयाँ गठबन्धन बनेपछि सत्तारूढ दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । 

सरकारबाट नेपाली कांग्रेस मङ्गलबार बाहिरिएसँगै कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितको गठबन्धन सरकार बन्नेछ । अब बन्ने सरकारको नेतृत्वमा एमालेले आफ्नो दाबी गरेको हो ।

यसअघि पटक पटक गठबन्धनबाट धोका पाएको भन्दै एमालेले कुनै पनि हालतमा यो पटक नेतृत्व छाड्न नसकिने जनाएको छ । एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्रीमा पार्टीको सशक्त दाबी रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्र र कांग्रेसले समेत सरकारको नेतृत्व गरेर परीक्षण भइसकेको भन्दै जनताले पनि एमालेको नेतृत्व हेर्न चाहेको जिकिर गर्नुभयो । केन्द्रमा नयाँ गठबन्धन बने पनि प्रदेश सरकारको विषयमा कुनै टुङ्गो लागेको छैन । सत्ता गठबन्धन दलबिच प्रदेशको भागबन्डा हुनै बाँकी छ । एमालेको कर्णाली नेतृत्वले भने यस पटक जसरी पनि लिने गरी केन्द्रमा पहल गरिरहेको छ । सरकारमा जाने विषयमा केन्द्रबाट कुनै निर्देशन नआए पनि आन्तरिक रूपमा पार्टी छलफलमा जुटेको सचेतक पछाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सरकारमा जानेभन्दा पनि अब एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नुपर्छ 

भन्ने हो ।”

यसअघि प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा माओवादी र एमालेबिच कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । लगत्तै केन्द्रीय समीकरण बदलिएपछि एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो । यस पटक पुनः एमाले सरकारमा जाने भएको छ । यस पटक सरकारको नेतृत्व नै गर्ने गरी जाने एमाले नेताहरू बताउँछन् ।

मुख्यमन्त्री राजकुमार शर्माले भने आफ्नै नेतृत्वमा सरकार विस्तार हुने बताउनुभयो । उहाँले नयाँ समीकरण बनेपछि कसरी अघि बढ्ने भनेर केन्द्रको निर्णय पर्खिरहेको बताउनुभयो । केन्द्रको निर्देशन नआउँदासम्म सरकारले पुरानै शैलीमा काम गरिरहने उहाँको भनाइ छ । उहाँले परिवर्तन भएको समीकरण अनुरूप सरकार अघि बढ्ने र केन्द्रको निर्णय अनुसार नै मन्त्रीमण्डल फेरबदल गर्ने बताउनुभयो ।