• १३ साउन २०८१, आइतबार

प्रदेश समृद्धिको लागि स्थिर सरकार आवश्यक

blog

बडीकेदार गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : मुख्यमन्त्रीको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, फागुन २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ । आज डोटीस्थित बडीकेदार गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको क्रममा उहाँले स्थिर सरकार आवश्यक रहेको र त्यसका लागि आफूले पहल गरिरहेको बताउनुभएको हो । 

मुख्यमन्त्रीले भन्नुभयो, “म स्थिर सरकारको पक्षमा छु । त्यसका लागि प्रदेशमा रहेका सबै दलहरुसग मैले छलफल अगाडि बढाएको छु ।” हिजो निर्वाचनकोबेला जनताबिच स्थिर सरकार बनाउने वाचा गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढेको बेला केही परिवर्तनको सङ्केत देखिएको बताउनुभयो । पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण सहयात्री दलहरूले साथ छोडेपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नु भएको छ । 

भवन उद्घाटनको क्रममा उहाँले संविधानको मूल मर्म अनुसार तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी, ऊर्जा, पर्यटन विकासको क्षेत्रमा प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभयो । नयाँ बनेको प्रशासनिक भवनबाट पालिकाले सरल, सहज रूपमा जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्ने मुख्यमन्त्रीको विश्वास छ । 

सङ्घीय सरकारको समपूरक अनुदान दुई करोड ५७ लाख रुपियाँ लागतमा १६ कोठाको दुई तले प्रशासनिक भवन निर्माण भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सदस्य शिवसिंह ओली विशिष्ट अतिथि रहेको उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष भैरव साउँदको अध्यक्षतामा सम्पन्न भएको थियो ।