• १६ भदौ २०८१, आइतबार

हनुमानढोका सौन्दर्यकरणमा स्थानीय अपनत्व जरुरी

blog

हनुमानढोकाको सौन्दर्यकरण अभियानअन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुहुँदै नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौँ, फागुन २४ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यकरण अभियानअन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ । 

महाशिवरात्री तथा २६१औँ सेना दिवस २०८० को उपलक्ष्यमा श्रीसार्दुल जङ्ग गुल्मको आयोजनामा सो कार्यक्रम भएको हो । काठमाडौँ महानगरपालिकाको स्वच्छ, सफा महानगरको योजनाअनुरूप श्रीसार्दुल जङ्ग गुल्म र हनुमानढोका दरबार संरक्षण कार्यक्रमको संयुक्त आयोजनामा गत मङ्सिरमै हनुमानढोका सौन्दर्यकरण अभियान सुरु गरिएको थियो । 

मन्त्री श्रेष्ठले नेपाली सेनाले अस्तव्यस्त भएको स्थानमा सौन्दर्यकरण गर्ने काम गरेर ऐतिहासिक हनुमानढोका परिसरको सौन्दर्यकरणमा लागि परेकोले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–यस कार्यमा स्थनीयहरुलाई पनि संलग्न गराएमा अझ राम्रो हुन्छ । स्थानीयहरूको अपनत्व भएन भने सांस्कृतिक क्षेत्र खासै बाँच्दैन । उहाँले नेपाली सेनालाई यस्तो सामाजिक र सांस्कृतिक काम गरिरहेकोमा धन्यवाद पनि दिनुभयो ।

यसैगरी गुल्मपति पूर्ण प्रजापतिले २०७७ सालदेखि नै शार्दूल जङग गुल्मले हनुमानढोका परिसर सरसफाइ अभियान गरिरहेको भएपनि यसपालि विस्तारित रूपमा काम भइरहेको छ, भन्नुभयो । उहाँले आगामी दिनमा अन्य गमला स्ट्यान्डका साथै संस्कृति सम्पदा जोगाउन प्रेरणा दिने महावाणीहरू राख्ने जानकारी पनि दिनुभयो ।