• १६ भदौ २०८१, आइतबार

भूमिसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री अधिकारी

blog

कार्यभार सम्हाल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी ।

जानु पाण्डे

कपिलवस्तु, फागुन २४ गते । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । 

लामो समयदेखि सुस्त गतिमा चलेको भूमि आयोगको कामलाई गतिशील बनाइ दशकौँदेखि सास्ती खेपेका भूमिहीनलाई लालपुर्जा दिने कामको सुरुवात हुने जनाउनु भएको छ । भूमिसम्बन्धी समस्या रहेका अस्थायी बसोबास, सुकुम्वासी र गुठीका समस्या समाधानका लागि पदभार सम्हालेदेखि काम अगाडि बढेको बताउनुभयो ।

‘अहिले कहाँ–कहाँ समस्या छ, त्यो अध्ययन गरिँदैछ । कानुनी समस्या रहेको जानकारी आएको छ । त्यसलाई संशोधन गरी भूमिसम्बन्धी समस्या समाधान गरिनेछ । पहिलाजस्तो ढिलासुस्ती हुँदैन । यो सरकार तत्काल एक्सनमा जान्छ’ मन्त्री अधिकारीले बताउनुभयो ।

केही सहकारीमा आर्थिक अपचलन र अन्य समस्या देखा परेको हुँदा त्यसप्रति मन्त्रालयको ध्यान पुग्ने बताउनुभयो । मन्त्री अधिकारी नेकपा (एमाले) बाट कपिलवस्तु क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । शिक्षण पेसाबाट राजीनामा दिएर २०५४ सालमा एमाले जिल्ला प्रमुखको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ तीन कार्यकाल जिल्ला प्रमुखको रूपमा रहनुभएको थियो । एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएको थियो ।