• १६ भदौ २०८१, आइतबार

सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्छ : मन्त्री गुरुङ

blog

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : सञ्चार मन्त्रालय ।

काठमाडाैँ, भदाे १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चारमाध्यमहरू विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उहाँले बदलिँदो परिवेश अनुसार यी संस्थाहरूले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले यी संस्थाहरू राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै तिनको पुनर्संरचना गर्नुपर्ने बताउनुभयो । 

यस्तै, मन्त्री गुरुङले जनतालाई सेवा दिनुका साथै प्रतिस्पर्धी हुनुपर्नेमा पनि जोड दिनुभयो । सरकारी सञ्चारमाध्यमहरूले राजस्व वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफूले सरकारी सञ्चारमाध्यमहरूलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको बताउनुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ती पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, "हाम्रो सङ्गठनहरू पञ्चायतकालमा एक खालको भजन मण्डलीको रूपमा प्रयोग भयो । एउटा व्यवस्था थियो सबै विरोधीहरूको पक्षमा प्रयोग गर्ने काम भयो । अहिले पनि हामी कता-कता त्यही आँखाले हेर्छौँ । नेपाल टेलिभिजन र रेडियो नेपालको गतिविधि त्यही भएको छ र रु त्यस्तो भएको छैन नि । अहिले त बहुदलीय व्यवस्था आयो। कुनै राजा, महाराजा छैन । कुनै पञ्च महानुभाव पनि छैन । उनीहरूको गुणगान गाइदिनुपर्ने, उनीहरूलाई जोगाइदिनु पर्ने त छैन । पहिलेको तुलनामा निष्पक्ष ढङ्गले धेरै भन्दा धेरै जनतालाई सुसूचित गर्ने, सूचनाको प्रसारण गर्नेदेखि लिएर सबै काम गरिरहेको छ । तर हाम्रो चासो कहाँ छ भने, आधुनिक प्रविधिको विकास भइसक्यो । त्यस अनुरूपको सफल बनाउनुपर्‍यो । प्रतिस्पर्धी हुनुपर्‍यो ।"

यसैका लागि सरकारले ऐन ल्याएको बताउनुहुँदै मन्त्री गुरुङले हिजो यी संस्थाहरू नितान्त सेवाको लागि मात्रै खोलेको तथा बहुदलीय व्यवस्था आएपनि नेपाल खुल्ला समाज नै रहेका उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, "खुला समाजमा निजी क्षेत्रलाई पनि प्रवेश गरायौँ । प्रतिस्पर्धा हुने नै भयो । खुलापनले प्रतिस्पर्धाको ज्यादा माग गर्‍यो । तर हाम्रो संस्थाहरू चाहिँ सरकारले सेवा गर्न गठन गरेको भन्ठानेर सेवा पनि राम्रोसँग पुर्‍याउन नसक्ने । प्रतिस्पर्धामा पनि जान नसक्ने । राज्यको सूचना प्रवाह गर्ने संस्था, जनतालाई सेवा गर्ने संस्था हुने कि नहुने रु राज्य बलियो बनाउन यस्ता संस्थाहरू हुनुपर्छ । यस्तो संस्थाहरू 'वायस' हुनुभएन ।" 

यी संस्थाहरूले प्रतिस्पर्धामा आफूलाई खरो उतार्नुपर्ने बताउनुहुँदै राजस्व बढाउने तथा रेडियो र टेलिभिजनको क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । "रेडियो नेपाल पनि सेतो हात्ती बनेर काम छैन । नेपाल टेलिभिजन पनि सेतो हात्ती बनेर काम छैन," उहाँले भन्नुभयो ।

यसैगरी, उहाँले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता संस्थालाई बलियो बनाउन सकेमात्रै राज्य बलियो हुने बताउनुभयो । सङ्गठन र राज्यलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।