• १३ साउन २०८१, आइतबार

सात दशक नाघेका रामबहादुरको लोभ लाग्दो कागती खेती

blog

पर्वत, फागुन २४ गते । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०-२२ वर्षे तन्नेरीको जस्तै छ ।

बिहान उठेदेखि राति अबेरसम्म उहाँ कागती बगानमा मेहनत गरिरहनुहुन्छ । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उहाँलाई भ्याइनभ्याइ छ । कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भू-भागमा रहेको यो ठाउँ तराई जस्तै छ । तर उहाँले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाउनुभयो । 

नगदे बालीको रूपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिकरुपमा आफैँले थालेको कुरिलो खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । लामो समय काठमाडौँमा बसेर व्यापार गर्नुभएका क्षेत्री ६० वर्षको उमेरमा काठमाडौँ छाडेर गाउँ फर्किनुभएको थियो । गाउँ फर्केपछि व्यावसायिकरुपमा कृषि पेसामा लाग्नुभएको हो । काठमाडौँ बस्ने क्रममा बोटानिस्ट डा खेमराज भट्टराईसँग भेट भयो ।

डा.भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि त्यहाँको माटोमा केही गर्न प्रेरणा दिनुभयो । पुर्खाले आर्जेको माटोमा आफैँ नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौँको व्यवसाय छाडेर गाउँमा फर्किनुभयो । वि.सं.२०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोप्नुभएका क्षत्रीको बगैँचामा कागतीका करिब एक हजार बोट छन् । 

माछापुच्छ्रे  कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थाल्नुभएका क्षेत्रीले सुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुटरुपमा बिक्री भएको भएपनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती बिक्री वितरण गर्दै आउनुभएको छ । उहाँले प्रतिकिलो दुई सय खुद्रा र होलसेलमा एक सय ८० मा बिक्री गर्ने गरेको बताउनुभयो । अहिले बजारकोसमेत समस्या नरहेको र घरबाटै बिक्री हुने उहाँले बताउनुभयो । 

गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उहाँको भनाइ छ । आफ्नो बगैँचामा कुनै प्रकारको रासायनिक पदार्थ (विषादी मल)को प्रयोग नगरेको बताउने क्षत्रीले कागतीका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ । काँचो रस बिक्री नभए पकाएर चुक बनाएर बेच्ने । यसको बोक्राबाट स्वादिलो क्यान्डी बन्छ । उहाँले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा बिक्री गर्नुभएको थियो । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र पर्वतले कागतीको स्रोत केन्द्रको रूपमा उहाँको फार्मलाई छनोट गरेको छ । कागतीसँगै क्षेत्रीले २०७५ सालबाट कुरिलो खेती सुरु गर्नुभएको छ । कागतीका बोटका बीचमा रोप्दा पनि हुने भए पछि उहाँले कुरिलोका लागि नयाँ जग्गा प्रयोग गर्नु परेन । कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उहाँले त्यो बीउबाट पाँच हजार बिरुवा तयार बनाउनुभयो ।

उहाँको बगैँचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्ने योजना रहेको क्षत्रीले बताउनुभयो । कुरिलो बिक्री गरेर प्रत्येक छ महिनामा सन्तोषजनक आम्दानी भइरहेको उहाँको भनाइ छ । सुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौँका कम्पनीमा कुरिलोको जरा बिक्री गरेका उहाँले आजभोलि भने कुरिलोको टुसा घरबाटै बिक्री गर्दै आउनुभएको छ । जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकाले बगैँचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उहाँको भनाइ छ । 

पोखरा–काठमाडौँका बजारमा धेरै मूल्यमा टुसा बिक्री हुने गरेको भए पनि आफूले प्रतिकिलो एक हजारका दरमा बिक्री गर्दै आइरहेको पौडेलले बताउनुभयो । कागतीलाई गरेको गोड मेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकाले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उहाँले बताउनुभयो । काममा उहाँलाई श्रीमती र छोराले पनि सघाउँदै आएका छन् । उहाँले जमिन बाँझो राख्नेलाई यस्तै नगदे बाली लगाएर आम्दानी गर्न सुझाव दिनुभयो । 

पौडेलले गत वर्षदेखि ८० हजारको लगानीमा दश वटा मौरीका घारबाट मौरीपालन पनि सुरु गर्नुभएको छ । कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि सुरु गरेको उहाँले बताउनुभयो । मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेलले बताउनुभयो । 

क्षेत्रीको उत्पादनलाई जोगाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा १० लाख ‘कोल्ड स्टोर’ निर्माणका लागि सहयोग गरेको छ । क्षत्रीले घर नजिकै कोल्ड स्टोर निर्माण गरेर उत्पादित कागती भण्डारण गर्न थाल्नुभएको छ । बेमौसममा बिक्री गर्नका लागि कागती र मुस्ताङबाट स्याउ खरिद गरेर भण्डारण गरेको उहाँले बताउनुभयो । खेतबारीमा नियमित परिश्रम गर्ने हो भने बुढेसकालमा पनि अरूको भर पर्नुपर्दैन उहाँले भन्नुभयो, “एकातिर स्वास्थ्य राम्रो हुने, अर्कोतिर आम्दानी पनि हुने ।” उहाँले आफूले थालेको व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको बताउनुभयो । रासस