• १३ साउन २०८१, आइतबार

फरार प्रतिवादीलाई पक्राउ गर्दै प्रहरी

blog

अविनाश चौधरी

धनगढी, फागुन २४ गते । कैलाली प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । अदालतले कैद सजाय र जरिवाना सुनाएपछि फरार भएका विभिन्न मुद्दाका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । 

पक्राउ गरेर उनीहरूलाई बाँकी रहेको सजाय र जरिवाना भुक्तानका लागि अदालतमा बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ । यसक्रममा प्रहरीले पुनः सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चेक अनादर मुद्दाको टीकापुर नगरपालिका–१ का ३८ वर्षीय अभिषेक चौधरी, जुवातास मुद्दाको ४२ वर्षीय उदयबहादुर शाही, लागुऔषध मुद्दाको टीकापुर नगरपालिका–८ का २३ वर्षीय सुरुज बुढा, कुटपिट मुद्दाको जानकी गाउँपालिका–२ का ३५ वर्षीय बालकृष्ण थारु छन् ।

यसैगरी, जालसाझी मुद्दाको टीकापुर –९ का ४४ वर्षीय नारायण भुर्तेल, वन मुद्दाको कैलारी गाउँपालिका –६ का २८ वर्षीय दिनेश चौधरी र वन मुद्दाको टीकापुर नगरपालिका –२ का ३४ वर्षीय भीमबहादुर आउजी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटेको प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिनुभयो । प्रहरीले यसअघि धेरै फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ ।