• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही पदमुक्त

blog

आर्थिक मामिला मन्त्री नरेशकुमार शाही । तस्बिर: गोरखापत्र

अविनाश चौधरी

धनगढी, फागुन २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पनि पदमुक्त गर्नु भएको छ । 

सङ्घमा बनेको नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी समावेश भएपछि मुख्यमन्त्रीले आज आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई पदमुक्त गर्नु भएको हो । यसअघि, उहाँले नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीलाई पदमुक्त गर्नु भएको थियो । 

सङ्घमा बनेको नयाँ गठबन्धनका कारण सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको विषय पनि अब पेचिलो बनेको छ । मुख्यमन्त्रीले दुई दलका मन्त्रीलाई पदमुक्त गरेपछि उहाँ अल्पमतमा पर्ने निश्चित भएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन हिजो नै फिर्ता लिइसकेको छ । एकीकृत समाजवादीलेसमेत सरकारको साथ छोडेमा मुख्यमन्त्री अल्पमतमा पर्नु हुनेछ । सुदूरपश्चिममा काँग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार थियो । एकीकृत समाजवादीले पनि प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने बताइएको छ । 

अब सरकारसँग नेपाली काँग्रेसका १७ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २४ जना प्रदेश सभा सदस्य सरकारसँग रहेका छन् । १८ सिट जितेको नेपाली काँग्रेसका एक जना प्रदेश सभा सदस्यको निधन भएपछि काङ्ग्रेससँग १७ जना प्रदेश सभा सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार चलाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।