• १६ भदौ २०८१, आइतबार

९० घर भूमिहीनलाई लालपुर्जा

blog

मध्यविन्दु नगरपालिकाले –१ सेतापानीका भूमिहीनलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिदै ।

बोमलाल गिरी

नवलपुर, फागुन २३ गते । मध्यविन्दु नगरपालिकाले–१ सेतापानीका ९० घर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । 

मध्यविन्दुको वडा १, ५ र ७ का ८ हजार ९६ जनाको लगत संकलन भएकोमा पहिलो चरणमा ९० जनाले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन् । वडाध्यक्ष तिलकराम न्यौपानेका अनुसार वडामा ५५ जनाको पुर्जा अधुरै रहेको छ । भूमिहीन दलित ५१, भूमिहीन सुकुम्वासी ९६ र अव्यवस्थित बोसवासी ६ सय ९७ गरी ८ सय ४४ परिवारले अझै पुर्जा पाउन बाँकी रहेको बताइएको छ ।  

भूमि आयोगका अध्यक्ष तारापती खरेलले जिल्लाको कावासोती नगरपालिकामा चार हजार, देचुलीमा दुई हजार पाँचसय, मध्यविन्दुमा चार हजार पाँचसय, हुप्सेकोट गाउँपालिकामा एक हजार पाँचसय ६० जना र अधुरा दुई हजार दुईसय ४० लगायत गरी १५ हजार सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको बताउनुभयो । 

आगामी असार–साउनसम्ममा सबैलाई पुर्जा वितरणको तयारी रहेको उहाँको भनाइ छ । यसरी पुर्जा पाउँदा एक कट्ठा आवासका लागि र ५ कट्ठा कृषिका लागि गरी ६ कट्ठा जग्गा उपलब्ध गराउनु पर्ने सरकारी नियम भए पनि यहाँ पुर्जा पाउनेले भने यसअघि भोगचलन गरेअनुसारकै जग्गा प्राप्त गरेको भूमि आयोगका सदस्य सुष्मा खनालले जानकारी दिनुभयो ।