• १६ भदौ २०८१, आइतबार

मुनाका सम्पादक थापाको बिदाइ

blog

गोरखापत्र संस्थानका कार्यकारी सम्पादक विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले नायब कार्यकारी सम्पादक तथा मुना मासिकका निमित्त सम्पादक भक्तबहादुर थापालाई बिदाइ गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २३ गते । गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक तथा मुना मासिकका निमित्त सम्पादक भक्तबहादुर थापा उमेरहदका कारण बुधबारदेखि सेवा निवृत्त हुनुभएको छ । 

उहाँलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी तथा विभागीय प्रमुखहरूले सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गर्नुभयो । 

कार्यकारी अध्यक्ष सुवेदीले थापाको हक्की स्वभाव र महत्त्वपूर्ण सुझावलाई संस्थानले ग्रहण गर्ने बताउनुभयो । नायव कार्यकारी सम्पादक थापाको पुँजी र व्यक्तित्व बनाउने काम संस्थानले गरेकाले आगामी दिनमा पनि उहाँको साथ, सल्लाह र सुझाव संस्थानका लागि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो । 

गोरखापत्र संस्थानका एक जुझारु सिपाही थापाको आगामी दिनको क्रियाशीलताले संस्थान पनि लाभान्वित हुने आशा राख्दै थापाको आगामी दिन सुखद् रहोस् भनी कामना गर्नुभयो । 

महाप्रबन्धक ऐरीले करिब ३० वर्ष संस्थानमा योगदान दिनुभएका थापाको पहिचान संस्थानले बनाएकाले आगामी दिनमा पनि सहयोग सल्लाह प्राप्त भइरहने अपेक्षा गर्नुभयो । 

कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले थापाको भावी जीवन सुखद र आनन्दमय रहोस् भनी शुभकामना दिनुभयो । 


सेवा निवृत्त हुनुभएका पत्रकार थापाले आफू २७ वर्ष स्थायी सेवा र अस्थायी सेवासहित करिब ३० वर्ष संस्थानमा सेवा गरेकाले आफ्नो जीवनको सबै पुँजी संस्थान रहेको बताउनुभयो । सेवामा रहुन्जेल नराम्रो कसैलाई नगरेको र आगामी दिनमा पनि त्यसो नगर्ने प्रतिबद्धता जनाउनुहुँदै थापाले अझ १५ वर्षसम्म यसै क्षेत्रमा क्रियाशील रहने जानकारी दिनुभयो ।  

बिदाइ कार्यक्रममा संस्थान सञ्चालक समितिका सदस्य तथा अर्थ विभाग प्रमुख राजुकुमार महत, अर्थ निर्देशक यमप्रसाद कँडेल, प्रशासन निर्देशक भगीरथ बस्नेत, विभागीय प्रमुखहरू ताराबहादुर बस्याल, रेखा श्रेष्ठ, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया लगायतले पनि उहाँलाई बिदाइ गर्नुभयो ।