• १६ भदौ २०८१, आइतबार

महिला लिग : कोशीको विजयी सुरुवात

blog

गोल गरेपछि कोशीका खेलाडी । तस्बिर : गोल नेपाल

काठमाडौँ, भदौ १६ गते । कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा कोशीलाई जिताउन सन्जु माया तामाङले १०औँ मिनेटमा गोलको खाता खोल्नुभयो । त्यसपछि समीक्षा मगरले ५१ र ५९औँ मिनेटमा दुई गोल थप्नुभयो । प्रतीक्षा राईले ६८औँ मिनेटमा अर्को गोल थप्दै कोशीलाई सजिलै जिताउनुभयो । खेलभर कोशीको दबाब झेलेको वालिङले गोल फर्काउन सकेन । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दुई वर्षपछि आयोजना गरेको महिला लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । जसमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, बागमती यूथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।

सिङ्गल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल खेल गरी कुल ६९ खेल हुनेछ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।