• १६ भदौ २०८१, आइतबार

बीआरआई परियोजनामा सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रस्तावित राजदूत ओली

blog

संसदीय सुनुवाइमा सहभागी चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओली।

काठमाडौँ, भदौ १६ गते। चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ।

परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतको रूपमा आफ्नो भूमिका हुने उहाँको भनाइ छ। 

आइतबार संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदूत ओलीले सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राख्नुभयो। उहाँले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने काममा आफू दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

चीनमा २१ प्रतिशत बुद्धिष्ट रहेको उल्लेख गर्दै प्रस्तावित राजदूत ओलीले उनीहरूलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउने काममा आफूले सहजीकरण गर्ने बताउनुभयो। तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदूत हुनेबित्तिकै पहल गर्ने पनि प्रस्तावित राजदूत ओलीको भनाइ छ। 

राजदूत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताउनुभयो।