• १६ भदौ २०८१, आइतबार

यल इतिहल्न सम्यक् महादानको तयारी

blog

यल इतिहल्न सम्यक महादान बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, फागुन २३ गते । दिपंकर पर्वका नामले प्रख्यात सम्यक् महादान पर्वको आयोजना हुने भएको छ । २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)ले फागुन ३० देखि चैत १ गतेसम्म यल इतिहल्न सम्यक् महादान पर्वको आयोजना गर्ने तयारी गरेको हो ।

राजा भाष्करदेवका सन्तति भालिभारोको परिवारले आरम्भ गरेको यो महादान पर्व परम्परा ७७३ वर्षदेखि निरन्तर छ । भलिभारोले त्रिरत्नको आसिसले धन प्राप्त गरेकोले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवम् दानको उद्देश्यले विभिन्न विहारका दिपंकर बुद्ध, तारालगायत अन्य बौद्ध देवीदेवता, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्यभिक्षू तथा बज्राचार्यलाई आमन्त्रण गरी सम्यक् महादान पर्वको सुरुआत गर्नुभएको कथन छ ।

हिरण्य महाविहार विहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले वि.सं १८६१ सम्म बर्सेनि आयोजना भएको यो पर्व राजा रणबहादुर शाहको पालपछि भने प्रत्येक वर्ष हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सो बेला सम्यक् गुथिको जग्गा अधिकरण भएपछि आयस्ताको कमीले बर्सेनि हुने यो सम्यक् महादान पर्व प्रत्येक चार वर्षसम्म आयस्ता जम्मा गरी पाँचौँ वर्षमा मात्र पर्व आयोजना गर्ने परम्परा बस्यो ।’’

यसपटक ललितपुरका नागबहालमा सम्यक् महादान पर्व हुँदैछ । सम्यक् चुल्हो पूजा गरी सम्यक् रोटी पकाउने, नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजहरूको प्राण प्रतिष्ठा निकाल्ने कार्य सम्पन्न भइसकेको छ ।

अब बिहीबार लिङ्गो ठड्याउने तथा हलिपतााक फहराउने, फागुन ३० गते ललितपुरका प्रमुख विहारका साथै चापागाउँ, बुङ्गमती, कीर्तिपुर, ललितपु, भक्तपुरका महाविहारबाट विशालकाय दिपंकर बुद्ध, आर्यतारा तथा अन्य सम्यक् देवीदेवतालाई पाटन दरबार क्षेत्रमा भेला गराउने कार्यक्रम छ । 

सोही रात विभिन्न सांस्कृतिक बाजागाजा र लावालस्करसहित ज्येष्ठवर्ण महाविहार तंगःबहाः गएर श्री वसुन्धरा देवीलाई जात्रा गरी सोही स्थानमा सहभागी गराइने परम्परा छ । त्यसपछि सम्पूर्ण दिपंकर बुद्ध तथा अन्य देवीदेवतालाई नागबलहालमा क्रमवद्धरुपमा विराजमान गराइनेछ । 

यसपालि सम्यक् महादानमा कूल १२५ दिपंकर बुद्ध तथा अन्य देवीदेवताको सहभागिता रहनेछ । अध्यक्ष बज्राचार्यले यस कार्यक्रमका लागि ३० देखि ३५ लाख रुपियाँ खर्च हुने र ललितपुर महानगरपालिकाले यस पर्वका लागि ५० लाखको अक्षयकोष स्थापना गरिदिएको जानकारी पनि दिनुभएको छ ।