• २६ वैशाख २०८१, बुधबार

अर्को टी–२० सिरिजको तयारीमा नेपाल

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन २३ गते । भर्खर त्रिकोणात्मक टी–२० सिरिज सकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङमा आयोजना हुने अर्को सिरिजको तयारीमा जुटेको छ ।

नेपाली टोली हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने अर्को त्रिकोणात्मक टी–२० सिरिजको तयारीमा जुटेको हो । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ । 

घरेलु मैदानमा मङ्गलबार मात्र सम्पन्न नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको थियो । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङ भ्रमणका लागि क्रिकेट टोलीको घोषणा गरिसकेको छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम हुनुहुन्छ । 

यसपटक दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिइएको छ । नेपालले सिरिजअघि हङकङसँग मार्च ९ तारिख एउटा टी–२० फ्रेन्डसिप कप पनि खेल्नेछ । सिरिजमा भने नेपालले पहिलो खेल मार्च १० मा हङकङ र मार्च १२ मा पीएनजीसँग खेल्नेछ ।