• १६ भदौ २०८१, आइतबार

विद्यार्थीलाई नौमती बाजा बजाउन सिकाइँदै

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २३ गते । गुल्मीको तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले विद्यार्थीलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा यहाँ अध्ययनरत विद्यार्थीलाई पढाइको साथमा सिपसँग जोड्नको लागि नौमती बाजा बजाउने तालिम प्रदान गरिएको प्रधानाध्यापक भागीरथ भण्डारीले जानकारी दिनुभयो ।

प्रधानाध्यापक भण्डारीका अनुसार यो तालिममा तीन चरणमा ३६ जना विद्यार्थीलाई सहभागी गराइने भएको छ । प्रत्येक चरणमा विभिन्न कक्षाका १२र१२ जना विद्यार्थीलाई तालिम प्रदान गरिनेछ । विद्यार्थीहरूलाई पढाइसँगै सीपको विकास गरी भोलिका दिनमा सिकेको सीपलाई आय-आर्जनसँग जोड्न टेवा पुर्‍याउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

लोप हुँदै गइरहेको नौमती बाजा बजाउने संस्कृतिको संरक्षण र जगेर्ना गर्ने विद्यार्थीहरुमा आफ्नो मौलिक संस्कृतिको पहिचान गराउने उद्देश्यले सुरु गरिएको यस तालिममा विद्यार्थीहरूले निकै रुचिपूर्ण तरिकाले संलग्नता देखाएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । विद्यार्थीको सिकाइ उपलब्धि बढाउन योजनाको साथ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको भन्दै उहाँले विद्यालयमा शिक्षकहरूको बिचमा राम्रो सहकार्य रहेको बताउनुभयो ।

विद्यालयमा कार्यरत शिक्षकहरू पूर्णरुपमा आफ्नो शिक्षण पेसाप्रति प्रतिबद्ध र सिकाइमा प्रविधिको प्रयोगमा दक्षसँगै विद्यालयका हरेक क्रियाकलापमा शिक्षकहरू सक्रियतापूर्वक  सहभागिता जनाउने बताउनुभयो । बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने यस रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको सिभिल इन्जिनियरिङ विषयको पढाइ हुन्छ । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयको पढाइ हुन्छ । यहाँ कूल एक हजार ३१५ जना विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।