• १६ भदौ २०८१, आइतबार

बजेटको नब्बे प्रतिशत सडकमा

blog

दोलखा समाचारदाता

दोलखा, फागुन २३ गते । दोलखाको शैलुङ गाउँपालिका–८ ले वडाको बजेटको करिब ९० प्रतिशत बजेट विकासको पूर्वाधार मानिएको सडकमा लगानी गरेको छ । वडावासीबाट वडामा उत्पादित आलुलगायत तरकारी बजारसम्म लैजान सहज बनाउने उद्देश्यले यसरी बजेट सडकमा लगानी गरिएको वडाध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडामा मात्र करोडौँको आलु, काउलीलगायतका तरकारी उत्पादन हुने गर्दछ । किसानलाई हैरानीका साथ बोकेर लैजाँदा प्रतिकिलो १० रुपियाँ पर्ने गरेको छ । सडक सहज भएमा प्रतिकिलो चार रुपियाँ मात्र ढुवानीमा पर्दछ । वडावासीको यो समस्यालाई ध्यानमा राखेर सडक निर्माण तथा स्तरोन्नति गर्न लागिएको हो । यहाँ अरू अन्न उत्पादन हुँदैन । खानेपानी तथा सिँचाइको व्यवस्था छ ।  

सडकहरू प्रायः ट्र्याक खोलिएका छन् । वडाध्यक्ष तामाङले भन्नुभयो, “हिउँदमा जसोतसो गाडी सञ्चालन हुन्छन् । वर्षामा पूरै बन्द हुन्छ । त्यसबेला उत्पादित वस्तु बजारसम्म लैजान बोकेरै लानुपर्ने समस्या रहेको छ । वडाको बजेटले सडक एकै पटक पक्की गर्न सम्भव छैन । बर्खामा हिलो भएर गाडी नजाने ठाउँमा सोलिङ मात्र गर्न लागिएको छ । बहुवर्षीय रूपमा सडक निर्माण गरी ढुवानीमा सहज गर्नु अहिले वडाको मुख्य उद्देश्य हो ।”

चालु वर्षमा पाँच÷पाँच लाख रुपियाँमा घलेडाँडा ठुलोछाप सानो सडक र सान्नागी ढुङ्गे सडक ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । १० लाख रुपियाँको लागतमा लाकुरी–कालापानी, १५ लाख रुपियाँ बजेटमा पाँडेखानी–भालुस्वाँरा, पाँच/पाँच लाख रुपियाँको लागतमा तमाखुबारी–जोरनागी र तल्लो दाङ–मानेडाँडा माथिल्लो दाङका सडकखण्ड सोलिङ गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । 

त्यसै गरी १५ लाख रुपियाँको लागतमा थालेडाँडा भदौरे सडकखण्ड निर्माणाधीन अवस्थामा र पाँच लाख रुपियाँ बजेटबाट सडक मर्मत गर्न बाँकी रहेको छ । बागमती प्रदेश सरकारको ४० लाख रुपियाँको लगानीमा सत्यश्वर–भैँसे–मनगाउँ १२१ मिटर सडकको ढलान गर्ने काम भइरहेको छ । साढे आठ लाख रुपियाँको प्रधानमन्त्री रोजगार कार्यव्रmममार्फत सडक स्तरोन्नति भइरहेको उहाँले जानकारी दिनुभयो । चालु वर्षको दुई लाख रुपियाँ लागतमा महादेव मन्दिरको व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ । उहाँले भन्नुभयो, “तीन लाख रुपियाँ बजेटमा पहरीखर्क क्लब भवन निर्माण र पाँच लाखको चारधाम मन्दिर निर्माण गर्ने काम भइरहेको छ ।”