• १६ भदौ २०८१, आइतबार

शक्तिशाली माओवादी केन्द्र आवश्यक : प्रचण्ड

blog

परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

सिराज खान 

नेपालगन्ज, भदौ १६ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अधिकारका लागि शक्तिशाली माओवादी केन्द्र आवश्यक रहेको बताउनुभएको छ । 

आइतबार नेपालगन्जमा सुरु भएको माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श समिति बैठकको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । माओवादी कमजोर भएमा उपलब्धि गुम्नसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । 

माओवादीलाई कमजोर बनाउने, बिभाजनको हल्ला चलाउने तथा जनतामा भ्रम सिर्जना गर्ने दुष्प्रयास भइरहेकाले सचेत रहन पार्टीका नेतालाई उहाँले आग्रह गर्नुभयो । 

सोमवारसम्म चल्ने सो बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, नेताहरु पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, चक्रपाणि खनाल लगायतको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ । 

केन्द्रका अनुसार केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।