• १६ भदौ २०८१, आइतबार

प्रहरीको घेरामा विद्यालयमा पढाइ

blog

शालिग्राम नेपाल 

चितवन, फागुन २३ गते । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको छात्रावासमा शालीन पोखरेल मृत फेला परेको घटनापछि सुरक्षा घेरामा पढाइ भइरहेको छ । रत्ननगर नगरपालिका–१० स्थित विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा पोखरेल फेला परेपछि बन्द भएको विद्यालयमा अहिले सुरक्षाकर्मीले घेरा दिएर पठनपाठन सञ्चालन गरिएको हो । गत शुव्रmबार कक्षा ८ देखिमाथि पढाइ भएकामा आइतबार कक्षा ६ र ७ को पनि पढाइ सञ्चालन गरिएको विद्यालयका प्लस टु संयोजक रमेश शर्माले जानकारी दिनुभयो । 

विद्यालयमा थप अप्रिय घटना हुनबाट जोगाउनका लागि सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । “विद्यालयद्वार अगाडि अभिभावक जम्मा हुनुभएको छ,” उहाँले भन्नुभयो, “सुरक्षाकर्मीलाई राखेर सुरक्षा प्रदान गरिएको छ । केही दिन सुरक्षा दिने छौँ ।” विद्यालयमा अन्य कक्षा पनि नियमित गर्ने तयारी छ । यस विद्यालयमा एक हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । कक्षा क्रमशः सञ्चालनमा आउन थाले पनि छात्रावास भने सञ्चालन हुन सकेको छैन । “छात्रावासमा रहेका विद्यार्थी अहिले घरबाटै आउजाउ गर्छन्,” शर्माले भन्नुभयो, “अन्तिम परीक्षाको समय भएकाले अभिभावक, विद्यार्थी र शिक्षक सबै चिन्तित छन् ।”

एकता शिशु निकेतनको छात्रावासमा पोखरेलको मृत्यु भएपछि सो विद्यालयको पठनपाठन हुन सकेको थिएन । घटनापछि तीन दिन विद्यालय बन्द भयो । फागुन १६ बाट आंशिक रूपमा पढाइ सुरु गरिएको विद्यालयका शिक्षक शर्माले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहँदा विद्यालय सञ्चालनका लागि अभिभावकबाट दबाब सिर्जना भइरहेको थियो । विद्यालयमा पढाइ सुरु गरेको जानकारी पाएका शालीनका आफन्तले आइतबार पनि अवरोध सिर्जना गरेपछि प्रहरीले सुरक्षा दिएर पठनपाठनलाई अगाडि बढाइएको थियो । भित्र कक्षा सञ्चालन भइरहँदा विद्यालयको गेटमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ थिए । एसइई परीक्षा नजिकिएकाले सुरक्षा घेराभित्र विद्यालयमा पठनपाठन सुरु गरिएको हो । विद्यार्थीका अभिभावकले विद्यालय नियमित चलाउन दबाब दिइरहेका थिए । 

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएकामा अनुसन्धान नसकिएकाले पुनः म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

अनुसन्धानका क्रममा प्रहरी रहेकाले पोस्टमार्टमको रिपोर्ट र अन्य विषयवस्तुसहित विस्तृत विवरण पछि जानकारी गराउने प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । 

घटनास्थलमा भेटिएको सुसाइड नोटमा नोटमा ‘मलाई सबैले माया गर्नु है’ भनेर लेखिएको छ । गोरखाको अजिरकोट गाउँपालिका–५, मुच्चोक घर भई चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बसेर शालीन दुई वर्षदेखि विद्यालयको होस्टेलमा बसेर पढ्दै आएकी थिइन् ।