• १६ भदौ २०८१, आइतबार

जोविरुद्ध आन्दोलन उसैलाई दुध

blog

कविराज घिमिरे 

हिले, फागुन २३ गते । यतिबेला दुधको भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादन कृषक आन्दोलनमा छन् । विगत छ महिनायता कृषकले आफ्नो उत्पादनको मूल्य पाउन नसकेपछि दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध नाराबाजी र आन्दोलन गर्दै आएका छन् तर पनि उही संस्थानलाई नै दिनहुँ दुध बिक्री गर्न भने छोडेका छैनन् । 

अन्य निजीस्तरका संस्था पनि भरपर्दो नभएका कारण डिडिसीलाई नै दुध दिँदै आएको चञ्चलादेवी बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्था हिलेका अध्यक्ष नगेन्द्र पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो माग पुरानो भुक्तानी देऊ भन्ने हो, हामीले दुध दिन्नौँ त भनेका छैनौँ । हामीले त जसरी पनि डिडिसीलाई नै दुध दिनु पर्छ ।” दुग्ध उत्पादक कृषकका लागि दुध नै प्रमुख आम्दानीको स्रोत हो । उसले आफ्नो सबै खर्च दुध बेचेरै आएको आम्दानीले धान्नुपर्ने भएकाले भुक्तानी चाँडो गर्न पाण्डेको आग्रह छ । 

धनकुटा नगरपालिका–१, हिलेस्थित चञ्चलादेवी बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्थामा अहिले दैनिक एक हजार आठ सय लिटर दुध जम्मा हुने गरेको छ । यस संस्थामा दुध बिक्री गरी २५० कृषकले दैनिक गुजारा चलाउँदै आएका छन् । एक हजार आठ सय लिटर दुधमध्ये सात सय लिटर स्थानीय बजारमा बिव्रmी हुने गरेको छ । 

बाँकी एक हजार एक सय लिटर दुध नेपाल सरकार स्वामित्वको दुग्ध विकास संस्थानमा दिनुपर्ने अवस्था छ । डिडिसीले भदौयताको दुधको भुक्तानी नदिँदा सहकारी संस्थाले कृषकलाई दुधको भुक्तानी दिन सकेको छैन । भुक्तानीका लागि पटक पटक ताकिता मात्र नभई सबै कृषक भेला भएर आन्दोलन नै गर्दै आएका छन् । दुध मौज्दात गरी धेरै दिन राख्न नमिल्ने भएकाले बाध्य भएर पुरानो भुक्तानी बाँकी हँुदाहुँदै पनि डिडिसीलाई नै दिन बाध्य भएको संस्थाका व्यवस्थापक भीम मल्ल बताउनुहुन्छ । अहिले यो संस्थाले डिडिसीबाट ९५ लाख रुपियाँ भुक्तानी लिन बाँकी छ । दैनिक करिब ५० हजार रुपियाँको बक्यौता रकम थपिने गरेको छ ।

पटक पटक ताकिता गर्दा पनि दुधको भुक्तानी नपाएपछि आन्दोलनमा उत्रिएका कृषकले डिडिसीलाई दबाब दिन कहिले जिल्ला प्रशासनमा धर्ना, घेराउ कहिले चक्काजाम त कतै दुध सडकमै पोखेर आन्दोलन गरिरहेका छन् । अहिले डिडिसीले मात्र धनकुटा र तेह्रथुमका कृषक तथा सहकारीको ११ करोड रुपियाँभन्दा बढी रकम तिर्न बाँकी छ तर यति धेरै बक्यौता हुँदासमेत मूल्यका कारण डिडिसीलाई दुध दिन बाध्य हुने गरेको दुग्ध उत्पादन जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष नारद कटवाल बताउनुहुन्छ । डिडिसीको विकल्प नै नभएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “निजी डेरीहरूले अहिले मूल्य धेरै घटाएर माग्छन् । डिडिसीले ६०/६५ रुपियाँ हाल्ने दुधलाई निजी डेरीले ४०/४५ मात्र दिन्छन् ।” विभिन्न परिकार बनाएर बिक्री गर्दासमेत बिक्री हुने अवस्था नरहेको कटवाल पीडा पोख्नुहुन्छ । दुधसँगै घिउ, पनिर र चिजको पनि बजार नभएको उहाँको दुःखेसो छ । 

धनकुटामा दैनिक करिब ३० हजार लिटर दुग्ध सङ्कलन हुने गरेको छ । जसमध्ये ७० प्रतिशत दुग्ध जिल्लाबाहिर दुग्ध विकास संस्थान र निजी डेरीमार्फत निकासी हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । निकासी हुने दुधमध्ये पनि ७० प्रतिशतभन्दा बढी दुध नेपाल सरकार स्वामित्वको दुग्ध विकास संस्थानले उठाउने गरेको छ ।